निजगढ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कुनै पनि हालतमा नरोकिने बताउनु भएको छ । बुधवार बाराको सिमरामा सिमरामा रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताउनुभयो । उहाँले विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाँगिया बस्तिका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउने बताउनुभयो ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विभिन्न दलका शीर्षस्थ नेता, मन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले जानकारी दिनुभयो । पूर्वप्रधान मन्त्री माधवकुमार नेपालसहितको शीष टोलीले मंगलवार प्रस्तावित विमानस्थल निर्माण क्षेत्रको मंगलवार निरीक्षण गरेको थियो ।
उहाँले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको चुनावभन्दा अगाडि नै सुरु हुने समेत दाबी गर्नुभयो । निजगढ विमानस्थलको काम कहिले सुरु हुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको र सबैको साथ र सहयोग भए चाँडै काम सुरु हुने छ ।’
निजगढ विमानस्थल निर्माणका लागि त्यहाँको जितपुर सिमरा उपमहानगरपालिका १६ टाँगियाबस्ती पुनस्र्थापना गर्नुपर्ने मुख्य काम रहेकाले यहाँको वस्ती स्थान्तरणको काम चाँडै सम्पन्न गरिनुपर्ने स्थानीयबासीको माग छ ।