वीरगञ्ज,नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धन सरकार सिमित व्यक्तिहरुको पृष्ठपोषकको रुपमा रहेको बताउनुभएको छ ।प्रेस चौतारी पर्साले वीरगञ्जको त्रिशला रेस्टुरेन्टमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकार जनताको अवस्था सुधार र देश विकासको लागिभन्दा पनि केही सिमित स्वार्थी र दलालहरुको हितमा काम गरिरहेको बताउनुभयो ।पछिल्लो २ महिनामा १ अर्ब राजस्व हिनामिना गरेको आरोप लगाउँदै उहाँले वैधानिक कारोवारलाई ठप्प गरी अवैधानिक कारोवारलाई प्रोत्साहन गर्ने गठबन्धन सरकारकै क्रियाकलापका कारण राजस्व कम उठेको जिकिर गर्नुभयो ।गठबन्धन सरकारको काम तस्करतन्त्रलाई उत्साहित पार्ने खालको भएको एमाले नेता पोखरेलको ठहर छ । उहाँले भन्नुभयोे, ‘७ लाख ७२ हजारको हाराहारीमा युवाहरु विदेशीएका छन्, डेढ लाखको हाराहारीमा अध्ययनका लागि विदेशिनु पर्ने बाध्यता छ । सबै गरेर झण्डै ९ लाखभन्दा बढी नेपाली नागरिक विदेशीएपछि हाम्रो देशको अवस्था झनै खराब हुनु स्वभाविक नै हो ।’ उहाँले थप्नुभयो, ‘काम गर्ने युवाहरु विदेश जाँदा स्वभाविक रुपमा देशको विकास रोकिएको छ । नेकपा एमाले सरकारमा रहँदा विदेश जानेहरुको संख्या घट्छ, एमाले सरकारबाट बाहिरिँदा युवाहरु निराश भएर विदेश जान बाध्य हुन्छन् ।’नेपाल राजनीतिक अस्थितरताको दुष्चक्रमा परेको तर्क गर्दै पोखरेलले ‘बहुदलीय व्यवस्था स्थापनाको ३४ वर्षमा २८ वटा प्रधानमन्त्री बने । एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्न नपाएको अवस्थामा परिणाम देखिने गरी काम हुन नसक्नु स्वभाविक नै हो ।’ सर्वाेच्च अदालतको परमादेशबाट गत वर्ष शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गरिएपछि राज्यका सबै अंगहरु कमजोर बनेको उहाँको धारणा थियो ।प्रतिपक्षमाथि नियोजित रुपमा घेराबन्दी र आक्रमण भइरहेको बताउँदै उहाँले आफ्ना कमजोरी लुकाउनका लागि अरुलाई आरोपित गर्ने चालबाजी सफल हुन नदिने दाबी गर्नुभयो । भ्रष्टाचारजन्य क्रियाकलापमा छानविनका लागि निष्पक्ष न्यायिक समिति गठन गरौ भन्ने मागसमेत पूरा गर्न नसक्ने सरकारबाट अरु अपेक्षा गर्न नहुने उहाँको ठहर छ ।भ्रष्टाचारमा कुनै सम्झौता गर्दैन भन्ने गृहमन्त्री र प्रधानमन्त्री आफ्ना पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको कुरा आउँदा सामान्यीकरण गर्न खोजिन्छ र फोन सम्पर्ककै आधारमा कोही दोषि हुँदैन भन्ने आधारहिन तर्क दिइन्छ’ पोखरेलले थप्नुभयो, ‘सुन तस्कर र माओवादीका नेताका बीचमा फोन सम्पर्क भएको कुराले उनीहरु पनि यस प्रकरणमा संलग्न भएको पुष्टि हुन्छ । तर मुलुकलाई दलाल, नोकरशाह र तस्करीतन्त्रलाई प्रबद्र्धन गर्नेले जनताको ध्यान अन्तै मोडन खोजेका छन् । हामी त्यासो हुन दिँदैनौ, हाम्रो खबरदारी निरन्तर भइरहन्छ ।’पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्यहरु योगेश भट्टराई, पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनाली, ज्वाला साह, प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, नेकपा एमाले पर्साका संयोजक डा. विशम्भर शर्मा लगायतको उपस्थिति रहेको प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराले जानकारी दिनुभयो ।

Leave a Reply