निजगढ,वैदेशिक रोजगारका विभिन्न आयामहरु बारे छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्चालको आयोजनामा आयोजित कार्यक्रम निजगढ बैङ्ककुट हालमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष अशोक रानाको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख खनालले आर्थिक रुपमा आफुलाइ समृद्ध बनाउने रहर र बाध्यताका कारण प्राय युवा वैदेशिक रोजगारिका निम्ति जाने गरेको बताउनुभयो ।
उहाँले २०४८ सालमा आफु समेत वैदेशिक रोजगारमा गएको संमरण गर्दै पहिले र अहिलेको परिस्तिथि फरक रहेको बताउनुभयो । उहाँले हालको समयमा वैदेशिक रोजगारको विषयमा सञ्चार माध्यमहरुमा आएका समाचारहरु सकारात्मक भन्दा नकारात्मक बढी रहेको र लामो समय आन्तरिक द्धन्दको कारणले देशमा भएका रोजगारीको अवसर गुमेको अवस्थामा वैदेशिक रोजगारलाई वैकल्पिक रोजगारीको रुपमा लिएका नेपालीहरुको अहिलेको यथार्थ भनेको वैदेशिक रोजगारीमा नै प्रमुख रुपमा निर्भर रहनु पर्ने वाध्यता रहेको बताउनुभयो ।
वैदेशिक रोजगारीमा संलग्न भइसकेका निजगढ नगरपालिकाका व्यक्तिहरुलाई निजगढमै केही गरौँं भन्ने सोच र चाहना भए स्थानीए सरकार अवाश्यक सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष रानाले वैदेशिक रोजगारीको प्रक्रियामा ठगिएका र बेचबिखनमा परेका पीडितले स्थानीय प्रहरी चौकीबाटै उजुरी दिन सक्ने गरी वैदेशिक रोजगार विभाग र नेपाली प्रहरीबीच समझदारी भइसकेको र अब पहिले जस्तो पीडितले उजुरीको लागि काठमाडौं धाउनु ुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले देशका ५५ लाख ८० हजार घर मध्ये करिव ५८% घरधुरीका मानिसहरु अहिले पनि वैदेशिक रोजगारबाट विप्रेषणको सहायताले जिविकोपार्जन गरिरहेका नेपालीलाई नेपालमै अवसर प्राप्त भए देशको कायपलट हुने हुदा स्थानीय तहले व्यावसायिक कृषि, साना तथा मझौला उद्यम विकास र प्रवद्र्धधनमा ध्यानदिनु पर्ने बताउनुभयो । साथै समाजमा रहेको अपरम्परागत रोजगारी र श्रमप्रतिको दृष्टिकोण परिवर्तन गरी रेमिट्यान्सको विकल्प खोज्नुपर्ने तथा विदेशी मुद्रा आर्जनका अन्य स्रोतहरू जस्तै निर्यात बढाउने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने, सेवा आय, पर्यटन आयलगायतलाई वृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष केशव ढोडारी, ७ का वडा अध्यक्ष रामजीप्रसाद वजगाई, रिटर्नी माईग्रटे नेपालका रामकृष्ण घिमिरे लगायतले वैदेशिक रोजगारका कारण अत्पन्न हुने समस्याका बारेमा आआफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिध र स्थानीयसमेत गरी करिव ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सदस्य मन्जु गरुङ्गले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण निलाम्बर बडालले गर्नुभएको थियो ।