निजगढ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माण गर्न आफूले निरन्तर पहल गरिरहने बताउनुभएको छ ।
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको निरीक्षण गर्ने क्रममा मंगलवार टागियावस्तिमा आयोजित संक्षिप्त सभा कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनु भएको हो ।
‘२०५२ सालदेखि नै निजगढ विमानस्थल आयोजनासंग जोडिएको छु, उहाँले भन्नुभयो, छिमेकी जिल्ला रौतहटको बासिन्दा भएको नाताले पनि यो आयोजना चाढै बनोस भन्ने चाहना छ ।’ उहाँले विमानस्थल निर्माण हुँदा देशको अर्थतन्त्र सुदृढ गर्न निक्कै ठूलो योगदान पुग्ने भन्दै सबैभन्दा बढी फाइदा भने टाँगियाबासीले नै पाउने पनि बताउनुभयो । ‘आयोजना पूरा गर्न सके देशको विकासले फडको मार्ने छ, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, तर यो आयोजनाबाट बढी लाभ टाँगियाका बासिन्दाले पाउने छन ।’ देशको विकासमा अपरिहार्य देखिएकोले नै आफू प्रधानमन्त्री हुँदा र त्यसअघि र पछि पनि विमानस्थल निर्माण गर्न लागिपरेको बताउनुभयो ।
उहाँले टागियावस्ति स्थानन्तरण गर्ने क्रममा धेरै ठुला माग नराख्न पनि स्थानीयसंग आग्रह गर्नुभएको छ । ‘पुरा गर्न नसकिने माग नराख्नु होला, उहाँले भन्नुभयो, नत्र दाताहरु बिच्किएर अन्त्यै जान सक्छन ।’ उहाँले देशभित्र नै एउटा समूह टाँगियावस्तिको विकल्पमा लुम्बिनी र सर्लाहीमा विमास्थल बनाउनु पर्ने भनेर लागि परेको पनि जानकारी दिनुभयो ।
नेता नेपालले कार्यक्रममा सहभागी हुनुभएका संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले र वन तथा वातावरण मन्त्री रामसहाय यादवलाई विमानस्थल निर्माण आयोजनामा देखिएका समस्या तत्काल अन्त्य गरी तदारुकताका साथ काम गर्न पनि निर्देशन दिनुभयो । ‘रुख काटने र लगानी जुटाउने लगायतका समस्या छन, उहाँले भन्नुभयो, मन्त्री ज्यूहरु यही हुनुहुन्छ, वन र आर्थिक विषयमा देखिएका समस्या हल गरेर तत्कालै काम सुरु गर्नु पर्यो ।’
निरीक्षण टोलीमा मन्त्री पर्यटन मन्त्री आले, वन तथा वातावरण मन्त्री यादव, श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठ, नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेल, बागमित प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शत्रुघन महोतालगायतको संघीय संसदहरु कल्याणी खडका, प्रदीप यादव, दिव्य राजभण्डारी, पवित्रा निरौला, सरला यादवलगायतको टोली टाँगियावस्ति आइपुगेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री आलेले निजगढ विमानस्थल निर्माण कार्य गर्न आफूले अर्थमन्त्री जनार्दन शर्मासंग पनि कुरा गरी सकेको बताउदै केही दिनभित्र परिणाम देखिने काम गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा पनि विमानस्थल आयोजनाको काम सुरु गर्न सकरात्मक रहेको जानकारी दिनुभयो । त्यसैगरी वन तथा वातावरण मन्त्री यादवले पनि मन्त्रालयको तर्फबाट आयोजनाको काममा कुनै अवरोध आउन नदिने बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केदारप्रसाद बजगाईको अध्यक्षतामा भएको सो कार्यक्रममा टाँगियावस्ति सरोकार समितिका संयोजक रमेश सापकोटा, सचिव सुमन ठोकर, जीतपुरसिमरा उपमहानगरपालिका नगरसभा सदस्य सुन्दर विश्वकर्माले आयोजनाको काम सुरु नहुँदा स्थानीयबासिन्दामा अन्यौलता बढेको बताउनुभयो । टागियावस्ति सरोकार समिमितका संयोजक सापकोटाले समितिको तर्फबाट वस्ति स्थान्तरणको क्रममा स्थानीयलाई उपलब्ध गराउने पर्ने सुविधासहित ८ सुत्रीय माग पत्र पेस गर्नु भएको थियो ।


















