कलैया,निजगढ नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेशका सुरेश घलान दोस्रो कार्यकालको लागि विजयी हुनुभएको छ । शनिवार राति १. ३० बजे सार्वजनिक गरिएको मत परिणाम अनुसार उहाँले ७७९ मतसहित नेकपा एमालेका उम्मेदवार कमान सिंह थिङ्गलाई पराजित गर्नुभएको हो ।
वडा अध्यक्षका उम्मेदवार थिङ्गले ५८६ मत प्राप्त गर्नुभएको थियो । घलान २०७४ सालको स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी बन्नुभएको थियो । त्यसैगरी वडा नम्बर १३ बाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेशका मेयर पदका उम्मेदवार सुरेश खनालले ७५१ मत प्राप्त गर्नुभएको छ ।
गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवार बन्नुभएका माओवादीका रविराज दङ्गालले ५८९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा एमालेका नगर प्रमुख उम्मेदवार सुरथ पुरीले ५८३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख उम्मेदवार सोममाया थिङ्गले ५९९ मत प्राप्त गर्नुभएको छ ।
वडा नम्बर १३ को मतगणना सकिएसंग अहिले वडा नम्बर १२ को गणना सुरु भएको छ । उक्त वडामा वडा अध्यक्ष पदमा कांग्रेशका ज्ञानबहादुर गोल र एमालेका युवक मोक्तानबीच प्रतिस्पर्धा छ ।
जीतपुरसिमरा वडा नम्बर २३ को अध्यक्षमा एमाले र २४ मा कांग्रेस उम्मेदवार विजयी
सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार मुस्तकिम अंसारीसहित प्यानल नै बिजयी भएको छ । वडा नम्बर २४ मा भने नेपाली कांग्रेशका सुलतान अन्सारी विजयी बन्नुभएको छ ।
एमालेका अंसारी सात सय ८२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका असलम देवानले चार सय ८९ मत प्राप्त गर्नुभएको छ । दुई सय ९२ मतको फराकिलो मतान्तरसहित अंसारी बिजयी हुनुभएको हो । अघिल्लो स्थानीय तह निर्वाचनमा अंसारी देवानसंग पराजित हुनुभएको थियो । त्यसैगरी उक्त वडामा नेकपा एमालेको सबै सदस्य बिजयी भएका छन् । निर्वाचित हुनेमा महिला सदस्य आवदा खातुन मंसुरी, दलित महिला सदस्य माला देवी मेस्तर, सदस्यमा अफताफ आलम र मिरहसन मियाँ मंसुरी रहेका छन् ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा नेपाली कांग्रेसका सुलतान अंसारी बिजयी हुनुभएको छ । निकटतम प्रतिद्धन्दी लोसपका कलामुदिन अंसारीलाई पराजित गर्दै कांग्रेसका अंसारी बिजयी हुुनुभएको हो ।
मतगणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालयले भने अंसारी विजयी भएको घोषणा गर्न बाँकी छ । मतपरिणाम अनुसार एमालेका सेराजुल अंसारी तेस्रो स्थानमा रहनुभएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले जीत हात पारेको उक्त वडामा यसपटक कांग्रेसका उम्मेदवार बिजयी भएका हुन् । अंसारीलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको थियो ।
उक्त वडामा एमालेकी लालमुनी देवी ठाकुर यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
वडा नम्बर २३ को मतपरिणाम अनुसार उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेका उम्मेदवारले बढी मत प्राप्त गरेका छन् ।
एमालेको तर्फबाट प्रमुख पदकी उम्मेदवार सरस्वतीदेवी चौधरीले ६ सय ५५ मत प्राप्त गर्दा गठबन्धनका राजन पौडेलले एक सय ९९ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा एमालेका भोलाप्रसाद अधिकारीले सात सय १२ मत प्राप्त गर्दा गठबन्धनकी उपप्रमुख उम्मेदवार मेघा शाहीले ६२ मत प्राप्त गर्नुभयो ।
उक्त परिणामले गठबन्धन र एमालेबीचको फराकिलो मतान्तरलाई कम गरेको छ ।
बरियारपुर,सर्वदलीय बैठकमा स्थानीय राजनीतिक दलहरूबीच आपसी समझदारी नबनेपछि बाराको महागढीमाई नगरपालिकामा आईतवारदेखि मात्रै मतगणना हुने भएको छ ।
महागढीमाई नगरपालिकामा शान्तिपुर्ण वातावरणमा शुक्रवार मतदान सम्पन्न भएपनि कांग्रेस बाहेकका सबै दलहरुले स्थानीय तहमा कार्यरत कर्मचारीलाई मतगणना कार्यमा राख्न नहुने अडान लिएपछि मतगणना कार्य सुचारु हुन सकेको छैन ।
नगरभित्रका ११ वटै वडाको मतपेटिकाहरु सुरक्षित तवरले स्थानीय गढीमाई नमुना प्राविधिक विद्यालयमा राखिएको मतदान अधिकृत ठाकुर तिवारीले जानकारी दिनुभयो । दलहरुबीच आपसी समझदारी गराउन निर्वाचन अधिकृतले शुक्रबार रातीदेखि नै सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
सर्वदलीय बैठकमा कांग्रेश बाहेका दलका प्रतिनिधिहरुले मतगणनाको लागि नगरपालिका बाहिरका अन्य कर्मचारीको टोली मगाउनु पर्ने अडान लिएपछि दलहरुको सहमतिमा आइतवार बिहान ८ बजेदेखि मतगणना कार्य शुरु गर्ने निर्वाचन अधिकृत तिवारीले बताउनुभयो ।
महागढीमाई नगरपालिकाको ११ वटै वडामा २६ हजार २ सय ४३ मत खसेको उहाँले जानकारी दिनुभयो । महागढीमाईको वडा नम्बर १ मा ३६३२ वडा नम्बर २ मा ४०५२, वडा नम्बर ३ मा १३०९ वडा नम्बर ४ मा २३६८, वडा नम्बर ५ मा ३१३५, वडा नम्बर ६ मा ३१०६, वडा नम्बर ७ मा १८७०, वडा नम्बर ८ मा २११२, वडा नम्बर ९ मा १९७९, वडा नम्बर १० मा १९५८ र वडा नम्बर ११ मा १७२४ मत खसेको निर्वाचन अधिकृत तिवारीले बताउनुभयो ।
महागढीमाईमा नगर प्रमुख पदमा कांग्रेशका उपेन्द्र प्रसाद यादव, नेकपा एमालेको तर्फबाट राजाबाबु साह, जसपा नेपालबाट रामबाबु यादवको बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ