वीरगञ्ज,बाघले आक्रमण गरेर ज्यान लिने क्रम बढेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ आठघरेस्थित जंगलको सडक किनाराको झाडी सफाइ गरिएको छ । सुवर्णपुरको ठुलो बाघमोर्चा छघरे हुँदै सुवर्णपुर चोक आवतजावत गर्ने सडकमा बढेको झाडी मंगलवार फडानी गरेर सरसफाइ गरिएको हो ।पर्सा राष्ट्रिय निकुञ्जसँगै सिमाना जोडिएको सो क्षेत्रमा रहेको झाडी बुट्यानका कारण जङ्गली जनावर लुकेर बस्ने जोखिम बढेको थियो । यस्तै बाघमोर्चामा रहेको प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत आवतजावतमा जोखिम रहेकोले सरसफाइ गरिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।मानव बस्ती प्रवेश गरेका जनावरहरु दिउँसो पनि सोही क्षेत्र वरपर लुकेर बस्ने खतरा रहेकोले ठोरी गाउँपालिकाको सहयोगमा जेसीबी प्रयोग गरेर स्थानीयले आवतजावत गर्ने बाटोको दुबै किनाराको झाडीको सरसफाइ गरिएको सचिव श्रेष्ठले बताउनुभयो ।सरसफाइ कार्यमा ठोरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष, पुर्ववडाध्यक्ष, वडा सदस्यहरु, सशस्त्र प्रहरी बल सुवर्णपुर, सुनाखरी उपभोक्ता समितिका पदाधिकारी, नेपाल प्रहरी, आठघरे र ठुलो बाघमोर्चाका स्थानीय संरक्षणकर्मी लगायत स्थानीयवासीको सहभागिता थियो ।गत बुधबार घर नजिकैको खेतमा बाँधिएको गोरुलाई पानी खुवाउन जाँदा छघरेका कान्छालाल दोङको बाघको आक्रमणमा परेर ज्यान गएको थियो । यस्तै बाघकै आक्रमणमा परेर उनको एउटा गोरु समेत मरेको थियो ।मानवीय र पशु धनमा समेत क्षति पु¥याउदै आएको सो बाघलाई गत शनिवार मात्र निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको छ ।



















