पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा विहिबार दिउँसो एकजना वडा अध्यक्षले तोडफोड गरेका छन् । आफूले ल्याएको योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोसित १७ नम्बर वडाका अध्यक्ष नवराज खड्का तोडफोडमा उत्रिएका हुन् ।
बजेट सिलिङ्गभित्र वडाले छानेका योजनाको सम्झौता गर्न नदिएको भन्दै आक्रोसित खड्काले नगरप्रमुख डा. कृष्ण पौडेलको टेबल तथा प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर र अन्य सामग्रीमा क्षति पुर्याएका हुन ।
यस्तै योजना शाखाका आधा दर्जन कम्प्युटर सामग्री तोडफोड भएका छन् । ताडफोडबाट के कति क्षेति भयो भन्ने बारेमा प्रहरीले मुचुल्का गरिरहेकाले एकिन विवरण आइनसकेको उपमहानगरका श्रोतले बतायो ।
उपमहानगरपालिका कार्यालय जनप्रतिनिधिहरुको कुरामा जिम्मेवार नभएको भन्दै आक्रोश पोख्नु पर्ने अवस्था आएको खड्काले बताए । खड्काले घटनाको जिम्मा लिएका छन् । उनले भने “अत्याचार हुन थालेपछि आक्रोश पोखेको मात्रै हुँ । के केमा कति क्षति भयो आफूलाई थाहा नभएको उनले बताए । “नगरपालिकाले मेरो वडाको २ करोड ७० लाखको बजेट सिलिङ्ग मध्ये १ करोड १० लाखको मात्र सम्झौता गरेर बजेट सकियो भन्यो ।” “बजेट भित्रै रहेर थप १० लाख रुपैंयाको खानेपानी धारा निर्माण गर्ने कार्यकालागि सम्झौता गर्न पठाएकोमा फाईल फिर्ता मात्र गरेनन्, कल्टै उपभोक्ता समितिका पधादिकारीहरुलाई प्रशासकीय अधिकृत पोखरेलले झपारेर पठाए । यी सब कारणले गर्दा विवाद भएपछि घटना घट्न गएको हो ।” खड्काले बताए ।
वडा अध्यक्ष खडका तोडफोडमा उत्रिदा कार्यालयमा कांग्रेस, माओवादी, मधेशवादी र केही एमाले सम्बद्ध वडा अध्यक्षहरु समेत थिए । घटनापछि भएको छलफलमा समेत प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष खडकाबीच चर्काचर्की परेको थियो । यस विषयमा आगामी सोमबार पुनः छलफलमा बस्ने गरी फर्किएको खड्काले सुनाए ।