कलैया,बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले ठुलो परिमाणको लागुऔषध सहित पक्राउ गरेको छ ।
भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाको गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बरको सीमा स्तम्भ नजिकैबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वाका २५ वर्षीय ईरफान खान र सोही नगरपालिका बाँसवरिया गाउँका राजु यादव रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा विभिन्न किसिमका लागुऔषध इन्जेक्शन, ट्याब्लेट र सिरप राखेर भारत घोडासहन बजारबाट कचोर्वा गाउँतर्फ आउनेक्रममा ईरफानलाई एसएसबीको टोलीले पक्राउ गरेको थियो । ईरफानले आफ्नो बयानमा घोडासहन बजारबाट लागुऔषध लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा मिठु राय यादवको छोरा राजु यादव र उनको भाई कञ्चन यादवको घरमा जम्मा गरेर त्यसपछि कलैया, निजगढ, हेटौंडा र काठमाण्डौसम्म पुर्याउने गरेको बताएको एसएसबीले जनाएको छ ।

यसैबीच ईरफानको बयानको आधारमा घोडासहनबाट आफ्नो घर बारा सिम्रौनगढ बाँसवरीयातर्फ आउदै गरेका राजु यादवलाई झरौखर थानाको टोलीले नियन्त्रणमा लिएको मोतीहारी जिल्लाका एसपी कान्तेशकुमार मिश्रले पुष्टी गर्नुभएको छ ।लागुऔषधसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply