काठमणडौ,काठमाण्डौ–तराई÷मधेस द्रुतमार्ग अर्थात् फास्ट ट्रयाक आयोजनाअन्तर्गत समस्या देखिएको ललितपुरको खोकना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी काम अघि बढाइने भएको छ ।खोकनाको समस्याका कारण द्रुतमार्गको शुरु बिन्दु निर्धारण र गाडी सञ्चालन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले यो खण्डको खरिद तथा निर्माण कार्य प्रभावित भइरहेको छ । द्रुतमार्गको शून्य किलोमिटरदेखि छ दशमलव पाँच किलोमिटरसम्मको खरिद तथा निर्माण शुरु हुन सकेको छैन ।
रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री मानवीर राईले द्रुतमार्गको प्रभावकारी कार्यान्वयनका लागि सरोकार भएका सबैसँग समन्वय गरी लक्ष्यअनुसार प्रगति हासिल गर्न निर्देशन दिनुभएको छ । कुल ७० दशमलव ९७ किलोमिटर लम्बाइको द्रुतमार्ग २०८३ सालको चैतसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।राष्ट्रिय गौरवको आयोजनाको प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ । आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ३७ दशमलव ६० र वित्तीय प्रगति ३९ दशमलव ५६ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।
यसअघि गत माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई-मधेस दू्रतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे ब्रिफिङ लिनुभएको थियो ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाबारे छलफल भएको हो ।
छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु विन्दू खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीयरुपमा काम हुने विश्वास व्यक्त गर्दै उत्पन्न समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।


















