काठमाण्डौं,मधेस सरकारले हुलाकी राजमार्गको काम यथाशीघ्र पूरा गर्नुपर्नेलगायतका २२ बुँदे माग संघीय सरकारलाई बुझाएको छ ।मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको मागपत्रमा निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रमुख शहरसँग सम्पर्क हुनुपर्ने माग पनि छ ।प्रदेशको विकासका निम्ति दीर्घकालीन सकारात्मक असर पार्ने केही योजनालाई आफूहरुले अघि बढाउन खोजेको भन्दै मुख्यमन्त्री सिंहले यसमा संघीय सरकारले साथ दिनुपर्ने बताउनुभएको छ ।

जनकपुर जयनगर रेल यातायातमा मालवाहक रेलको व्यवस्था हुनुपर्ने, हुलाकी राजमार्ग अन्तर्गत कमला पुल लगायत अन्य पुल निर्माण पूरा गर्नुपर्ने, जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गणको सौन्दर्यकरण गर्नुपर्ने माग पनि मुख्यमन्त्रीले माग पत्रमा उल्लेख गर्नुभएको छ ।यस्तै जनकपुरधामस्थित बाह्रबिघा रंगभूमि मैदानलाई व्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने, मधेश प्रदेशका आठवटा जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोरको निर्माण हुनुपर्ने माग पनि मुख्यमन्त्री सिंहले राख्नुभएको छ ।

कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग गर्नुपर्ने, भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधन प्रबन्ध मिलाउन माग गर्नुभएको छ ।कृषि अनुदानको रकम कृषकको खातामा सिधै जानुपर्ने व्यवस्था मिलाउनु पर्ने, बारा तथा पर्सामा औद्योगिक करिडोर कार्यान्वयनमा ल्याउनुपर्ने, हरेक जिल्लामा उद्योग क्षेत्र निर्माण गर्नुपर्ने, मधेस प्रदेशमा आईटी पार्क निर्माण गर्नुपर्ने प्रदेश सरकारको माग छ ।

Leave a Reply