निजगढ,गैह्नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन फर्जी कागजपत्र तयार पार्ने निजगढ नगरपालिका १२ का दोषिमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बाराले आनाकानी गर्दै आएको छ ।

निजगढ नगरपालिका– १२ वडा कार्यालयको सिफारिसको आधारमा भारतीय नागरिक रजनी राईले नेपाली नागरिकताको प्रमाणपत्र पाएको दुई महिना बितिसक्दासमेत दोषिमाथि कारबाही गर्न कार्यालयले चासो नदेखाएको हो । वडाको सिफारिसपछि भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत असार १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको थियो ।
भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोलेसहित दोषिमाथि कारबाहीको माग गर्दै स्थानीय युवाहरूले गत असार ८ गते ईलाका प्रशासन कार्यालय सिमरामा उजुरी दिएर कार्यालय अगाडि धर्ना र प्रदर्शनसमेत गरेका थिए । आर्थिक प्रलोभनमा परेर ईलाका प्रशासन कार्यालयका कर्मचारी र जनप्रतिनिधिको मिलिमतोमा राईलाई नागरिकताको प्रमाणपत्र दिएको स्थानीयको भनाइ छ । वडा अध्यक्ष गोलेले दार्जिलिङ्गमा रहेका आफ्ना नातेदारहरु मार्फत राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेको उनीहरुले बताउदै आएकाछन ।
स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) की छोरी भन्दै वडा कार्यालयले २३ जेठमा रजनीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको र त्यसको भोलिपल्ट नै नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन ईलाका प्रशासन कार्यालय सिमरामा सिफारिस गरेको थियो । ईलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले जिल्ला प्रशासन कार्यालय बारामार्फत नागरिकता प्रकरणमा छानबिन सुरु गरिएको बताउनुभएको छ । उहाँले नक्कली आमा र बुबा बनेका दुबै जना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत् बोलाइएको तर अहिलेसम्म उनीहरु मध्ये कोही पनि सम्पर्कमा नआएको जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जिव ओलीले नक्कली आमा÷बुबा बन्नेहरू हाल फरार रहेको र खोजी कार्य भइरहेको बताउनुभयो । उता, जिल्ला प्रशासन कार्यालय बाराका एक अधिकृतले यो विषयमा हाललाई कुनै पनि काम कारबाही नगर्न आदेश आएकोले कारबाही प्रकृया अघि बढन नसकेको बताएका छन ।


















