दुष्यन्त चौधरी
कलैया,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको नाम सच्याउन माग गर्दै मंगलवार ७ दिने अल्टिमेटम तथा स्मरणपत्र बुझाएको छ ।फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारालाई वीरगञ्जमा भेटेर सो स्मरणपत्र बुझाएको हो ।

फोनिजले बुझाएको पत्रमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी गलत विवरण उल्लेख गरेकोमा सो सच्याएर, ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्रमार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौं ।’सो क्रममा फोनिज मधेस अध्यक्ष चौधरीले यथाशिघ्र माग पुरा गर्न महासंघका मधेस प्रदेश समितिका महासचिव बन्जारासंग आग्रह गर्नुभएको थियो ।

पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बन्जाराले फोनिजले बुझाएको सो स्मरण पत्र तत्काल नै केन्द्रमा पठाइएको जानकारी दिनुभएको थियो । महासचिव बन्जाराले पनि सबैको इतिहास लेख्ने पत्रकारहरुले आफ्नै सही इतिहास लेख्न नसक्नु नसक्नु दुर्भाग्यपूर्ण घटना भएको बताउनुभएको थियो ।देशभरका नेपाल पत्रकार महासंघको शाखाहरुमार्फत केन्द्रीय समितिलाई ७ दिने अल्टिमेटम दिने क्रममा फोनिजले मधेस प्रदेशले पनि सो स्मरणपत्र बुझाएको हो ।

फोनिजले नेपाल पत्रकार संघ गठन गर्ने पहिलो व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ भएको र श्रेष्ठ नै संघको पहिलो अध्यक्ष भएको दाबी गर्दैआएको छ । विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरिएको फोनिजको दाबी छ ।२००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भएको र थप केही पत्रकारलाई संघमा संगठित गरिएको पनि बताउदैआएको छ ।

नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ भएको पुष्टि भइसकेको भएपनि नेपाल पत्रकार महासंघले भने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दैआएको छ ।
वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको र महासंघमा भट्टराईको योगदानको पनि कदर गर्नुपर्ने फोनिजको भनाई छ ।फोनिजले यसअघि २०७९ सालमा पनि इतिहास सच्याउनुपर्ने भन्दै नेपाल पत्रकार महासंघमार्फत ज्ञापन पत्र बुझाएको थियो । तर यसबारेमा कुनै चासो नदेखाइएपछि फोनिजले स्मरणको लागि पुनः अर्को पत्र बुझाएको हो ।सातदिनेअल्टिमेटम तथा स्मरण पत्र बुझाउने क्रममा फोनिज मधेस प्रदेशका सदस्य नबिन चौधरी, शम्भु महतो थारु, फोनिजका सदस्य रामप्रवेश चौधरी, पुनम चौधरी, एन्जल चौधरी लगायको उपस्थिति रहेको थियो ।

Leave a Reply