कलैया,जिल्ला प्रहरी कार्यालय बाराले जुवातास खेलिरहेका एक दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा छापामारी गर्दा प्रहरीले जुवातास खेल्ने १३ जनालाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरीबाट खटिएको टोलीले महागढीमाई नगरपालिकाको बरियापुरस्थित मोतीलाल प्रसादको घरमा छापामारी गरेर जुवा तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेका बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रहरीले जुवातास खेलिरहेका स्थानीय मनोजप्रसाद कुशवाहा, बिनोदप्रसाद, मोतिलालप्रसाद, जतिकर हुसेन, मोतिलाल कुशवाहा, राजु कुशवाहा, अच्छेलाल महतो, कस्तुरी साह, राजकिशोरप्रसाद कुशवाहा, जितेन्द्र तिवारी, सुकदेव यादव र मुस्ताक खान पैठानलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेकाहरु सबै महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी रहेको पनि प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुलाई बरामद रकमसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभएको छ ।


















