वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा देखिएको हैजा प्रकोप नियन्त्रण उन्मुख भएको पाइएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ हैजा सङ्क्रमित नथपिएको र झाडापखालाका बिरामीको सङ्ख्या समेत घट्दै गएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

महानगरपालिकाको तथ्याङ्कअनुसार, शनिवार साँझ ५ बजेसम्म वीरगञ्जमा कुल १९२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १८४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हाल उपचाररतमध्ये ५ जनालाई आइसियुमा राखिएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा २, नारायणी, तराई र सूर्य अस्पतालमा १÷१ जनाको उपचार जारी रहेको स्वास्थ्य शाखा प्रमुख राजु साहले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा ३६ जना झाडापखालाका बिरामी भर्ना भएका छन्, तर कुनै पनि बिरामीमा हैजा सङ्क्रमण पुष्टि भएको छैन । यसअघि शुक्रवार ८ जना र बिहीबार २ जनामा मात्र हैजा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै झाडापखालाका बिरामीहरूको चाप पनि घट्दै गएको छ । शनीवार ३६ जना बिरामी थपिएका छन् भने शुक्रवार ५२ र बिहीबार ४६ जना सङ्क्रमित थपिएका थिए । गत भदौ ६ गते पहिलो पटक तीन जनामा हैजा पुष्टि भएयता सङ्क्रमणको सङ्ख्या १९२ पुगेको हो ।यसैबीच हैजा सङ्क्रमण देखिएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि सङ्क्रमणको मूल स्रोत पत्ता लाग्न सकेको छैन । स्वास्थ्य कार्यालय पर्सा, नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाले प्रभावित क्षेत्रका धारा, डिप बोरिङ र घरायसी पानीका नमुना सङ्कलन गरी परीक्षण गरिरहेका छन् ।
परीक्षणका क्रममा केही नमुनामा दिसाजन्य कीटाणु ‘इ–कोली’ फेला परे पनि हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ कीटाणु कुनै पनि नमुनामा भेटिएको छैन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य कार्यालय पर्साले गत बुधवार सङ्कलन गरेको ११ शङ्कास्पद स्थानका पानीका नमुनामध्ये चार ठाउँ (यूथ केयर फाउन्डेसनको रिह्याब सेन्टर, स्वीकृति खाजा घर र स्वीट टी हाउस) मा ‘इ–कोली’ भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पुष्टि गर्नुभयो । तर, भिब्रियो कोलेरा भने फेला परेन ।

यसअघि, भदौ ८, ९ र १० गते खानेपानी तथा ढल व्यवस्थापन विभागले ४३ स्थानबाट सङ्कलित नमुना केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा पनि न ‘इ–कोली’ न ‘भिब्रियो कोलेरा’ भेटिएको थियो । त्यस्तै, भदौ १२ गते महानगरले वडा नं. १०, ११ र १२ बाट सङ्कलित ७ नमुनाको परीक्षणमा पनि हैजाको कीटाणु फेला परेन ।स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले प्रभावित क्षेत्रबाट पानीका नमुना सङ्कलन र परीक्षण कार्य निरन्तर जारी रहेको बताउनुभयो । “हामीले सम्भावित स्रोतहरूको खोजी र परीक्षणलाई तीव्र बनाएका छौँ । तर, हालसम्म भिब्रियो कोलेरा भेटिएको छैन, केही ठाउँमा इ–कोली मात्र फेला परेको छ,” उहाँले भन्नुभयो ।

Leave a Reply