बिदुर खडका
डुमरवाना,दुर्घटना न्युनीकरणका लागि सम्पूर्ण नेपालीले आत्मसात गर्दै ट्राफिक व्यवस्थापनमा सहकार्य गर्न आवश्यक रहेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले बताउनु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको एक हप्ते ट्राफिक सचेतना अभियानलाई सम्बोधन गर्दै उपमेयर चौधरीले देशभरिमैं सवारी दुर्घटनामा प्रदेश नम्बर २ को सुचाङ्क बढि भएकोले यसलाई न्युनीकरण गर्न ट्राफिक नियमबारे सहकार्य गर्न आवश्यक रहेको उपमेयर चौधरीले बताउनुभयो ।
ट्राफिक नियमको बारेमा जानकारी हुँदाहुँदै पनि त्यस्को उलंघन गर्नाले सर्वसाधारणले अकालमैं ज्यान गुमाउँनु परेको बताउँदै उहाँले सवारी चलाउँदा घर परिवारको ख्याल गर्दै ट्राफिक नियमको पालना गर्न उहाँले आग्रह गर्नु भयो । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराको निर्देशन अनुसार आयोजना गरिएको साता व्यापी अभियान अन्तर्गत ट्राफिक प्रहरीले जिल्लाको जीतपुर र सिमरामा यातायात व्यवसायी, हेबी सवारीका चालक र सर्वसाधारणा चेतना बढाउने उद्देश्यले सचेतनामुलक अभियान सञ्चालन गरिएको जीतपुरका ट्राफिक प्रहरी ईन्चार्ज एवंम् ट्राफिक प्रहरी सहायक निरीक्षक दिपककुमार बस्नेतले बताउनुभयो ।
अभियान अन्तर्गत ट्राफिक नियमका साथै ट्राफिक नियम उल्लंघन गरे हुन सक्ने सम्भावित दुर्घटना र कानुनी कारबाहीको बारेमा समेत जानकारी गराउने उद्देश्यले अभियान सुरू गरिएको उहाँले बताउनुभयो ।
अभियानको पहिलो दिन आयोजित कार्यक्रममा सहभागी यातायात व्यवसायी, चालक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलाई उपमेयर चौधरीले ट्राफिक नियम बारे जानकारी मुलक सन्देश लेखिएको पम्पलेट वितरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।