राजकुमार यादव
रौतहट,रौतहट जिल्लाको गढीमाई नगरपालिकाले शनीवार १२औं नगर सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल बजेट ५४ करोड ९१ लाख ७२ हजार एक सय आठ रुपैया पारित गरिएको छ ।
बजेटमा पुँजिगत खर्चतर्फ रु. १९ करोड १५ लाख ४९ हजार र चालु खर्चतर्फ रु. ३५ करोड ७६ लाख २३ हजार एक सय आठ रुपैया विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।नगर प्रमुख श्यामप्रसाद यादवको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला समन्वय समितिका सभापती रामअयोध्या राय यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । बजेटमा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका प्राथमिकता क्षेत्रमा बजेट केन्द्रित गरिएको जानकारी नगरपालिकाले दिएको छ ।नगर प्रमुख यादवले आगामी वर्षमा नगरका विकास योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै सबै जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूलाई सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।उहाँले नगरवासीहरूको जीवनस्तर सुधार, बालबालिका तथा युवाहरूको क्षमता विकास र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रमुख लक्ष्यका रूपमा लिइएको स्पष्ट पार्नुभएको थियो । साथै, नगर प्रमुख यादवले योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाहरूलाई साथ र सहकार्यको आह्वान समेत गर्नुभएको थियो ।नगर सभामा नगरपािलकाकी उपप्रमुख स्मिताकुमारी यादव, नगर सभा सदस्य, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, विभिन्न पार्टीका प्रतिनिधि र पत्रकारको बाक्लो उपस्थित रहेको थियो ।




















