हुनत सरकारले आगामी हप्ताबाट बालबालिकाहरुका लागि पनि खोप दिने बताइरहेको छ । कोरोना रोकथाम गर्ने मुख्य उपाय खोप हो भन्नेमा सबैजसो नेपाली विश्वस्त छन् । विश्वका विकसित मुलुकका नागरिकमध्ये उल्लेख्य संख्यामा खोपको विरोध गर्नेहरू बाहिर आइरहेका सन्दर्भमा नेपालमा भने खोपका पक्षमा नै पूर्ण जनमत देखिन्छ । केही व्यक्तिहरूमा खोपप्रति शंका त देखिन्छ तर त्यसले बलियो आकार लिएर प्रकट हुन सकेको छैन । पूर्ण मात्रा खोप नलगाएका मुलुकमा कोरोना संक्रमण दर उच्च भएको जानकारीले पनि नेपालमा खोपको माग बढेको छ । नेपालमा खोप लाउन चाहेर पनि लाउन नपाएका जनताको संख्या ठूलो छ ।
खोप लाउन नपाएकै कारण कोरोना संक्रमण पुनः दोहोरिने, यसले संक्रामक रूप लिन सक्ने सम्भावना जहाँको त्यहीँ छ । अहिले विश्वभर ओमिक्रोन भेरियन्ट त्रासको विषय बनेको छ । यस्तो अवस्थामा झण्डै ६५ लाख स्कुले विद्यार्थी खोपबाट वञ्चित छन् । यसलाई गम्भीर रूपमा लिनुपर्छ । ९ देखि १८ वर्ष उमेर समूहका ती बालबालिकालाई खोपको व्यवस्थापन आवश्यक छ । अभिभावक महासंघ, निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनलगायतका निकायले खोपको व्यवस्था गर्न सरकारसमक्ष पटक–पटक आग्रह गरिसकेका छन् । खोप व्यवस्थापन गर्ने आश्वासन दिए पनि सरकारले पूरा गर्न सकेको छैन ।
विद्यार्थीलाई खोपको सुनिश्चितता गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलबीच पटक–पटक छलफल भएको समाचार त बाहिर आयो, तर परिणाम आएन । स्वास्थ्य मन्त्री खतिवडाले विद्यालयमै खोप केन्द्र व्यवस्थापन गरी खोप लगाउने बताउँदै आउनुभएको छ । तर, कहिले भन्ने प्रश्नको उत्तर सरकार स्वयंले दिन सकेको छैन ।