बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ पिपलटारमा सोमवारबाट खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । सिंगौलस्थित टाँसीर्धेलीङ बौद्ध गुम्बामा लाग्ने ३८ औं धार्मिक मेलाको अवसर पारेर हिमाल युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
आगामी कार्तिक २० गतेबाट मेला लाग्ने भए पनि प्रतियोगिता भने सोमवारबाट नै सुरु भएको हो ।
प्रतियोगिताको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङले उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, वडा सदस्य बुर्गान बल, चनी बिक, खडकबहादुर तिमल्सिना, कार्यपालिका सदस्य मानबहादुर ड़ासेली, नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य गणेशबहादुर लामाको उपस्थिति रहेको थियो ।
उद्धाटन कार्यक्रमामा बोल्दै नगरप्रमुख पुरीले निजगढ नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम थालेको बताउनुभयो ।
यसैबीच सोमवार भएको उद्धाटन खेलमा जनएकता युवा क्लब ‘बि’ निजगढ वडा नम्बर ३ ले विजयी सुरुवात गरेको छ । जनएकताले एसवाइसी निजगढ वडा नम्बर १ लाई टस जितेर पछि पारेको हो । खेलको निर्धारित र अतिरिक्त समय पनि १÷१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि दुबै टिमले बराबरी खेलेपछि टस गरेर खेलको निर्णय लिनुपरेको थियो ।
खेलको म्याच अफ द म्याच जनएकता युवा क्लबका बिबेक दर्लामी मगर घोषित भए । उनलाई वडा अध्यक्ष तिमल्सिनाले ट्रफी प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा सिंगौलका ११ फुटबल टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले २५ हजार नगदसहित ट्रफी र उपविजेता टोलीले १५ हजार नगदसहित ट्रफी प्रदान गरिने प्रतियोगिता आयोजक हिमाल युबा क्लबका अध्यक्ष गंगा घलानले जानकारी दिनुभयो ।



















