काठमाण्डौ – नेपाली कांग्रेस सभापति पदमा मुख्य चारसहित ६ जना नेताको उम्मेदवारी परेको छ । काठमाण्डौमा भैरहेको पार्टीको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो ।

यस्तै कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन् । देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेर प्यानलसहित उम्मेदवारी दिनुभएको हो । संस्थापनइतर समूहमा भने सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रतिस्पर्धाबाट बाहिर बस्नुभएको छ ।

उहाँले कोइराला समूहलाई समर्थन गर्नुभएको छ । संस्थापनइतर समूह विभाजित भएपछि देउवालाई फाइदा हुने भएको छ । तर यसअघि नै देउवा समूहबाट अलग्गिएका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदार, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ तथा प्रकाशमान सिंह समूहबाट सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ । महामन्त्रीमा प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा, देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ ।

यसैबीच नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ ।

नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय सभा गृहमा शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि यस सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो ।

निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ ।

उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी महामन्त्रीमा डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खस आर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश–१ बाट १३, प्रदेश–२ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रिय सभागृहबाट भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी ÷ जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

 

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेको जनसम्पर्कबाट गरी यस सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । यसअघि शुक्रवार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो ।

मन्सुर, यादव र चौधरी सहमहामन्त्रीका उम्मेदवार

कलैया,नेपाली काग्रेसको १४ औ महाधिवेशनमा बाराबाट सहमहामन्त्री पदमा तिन जनाले उम्मेदबारी दिनु भएको छ ।

बाराबाट खानेपानी मन्त्री एवम केन्द्रीय सदस्य उमाकान्त चौधरी थारु कोटा, केन्द्रीय सदस्य एवम पूर्वमन्त्री फर्मुला मंसुर मुस्लीम कोटा र केन्द्रीय सदस्यमा राधेचन्द्र यादबले मधेसी कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here