नरेश गुप्ता

बरियारपुर,वीरगन्जस्थित ओम नेशनल एकाडेमी कलेजमा अध्ययनरत छात्रा ज्योतिकुमारी झाले कक्षा १२ मा विज्ञान संकायतर्फको बार्षिक परीक्षामा ३.९२ जिपिए ल्याएर नेपाल टप गरेकी छिन् । शनिबार प्रकाशित भएको कक्षा १२ परीक्षाफलमा ज्योतिले नेपालमा सबैभन्दा बढी जिपिए ल्याएको ओम नेशनल कलेजका अध्यक्ष डा. लालबावु यादवले बताउनुभयो । यसअघि पनि ज्योति एसइई र कक्षा ११ को परीक्षामा पनि उत्कृष्ट अंककासाथ ए प्लस जिपिए ल्याएर उर्तिण भएकी थिइन ।

सर्वोत्कृष्ट अंक ल्याएर कलेजको नाम राख्न सफल भएको भन्दै कलेजले आइतबार ज्योतिलाई कलेज परिशरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ ।

कलेज परिसरमा आयोजना भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रध्यापकहरुले विद्यार्थीहरु अनुशासित भएर गुरुको मार्ग निर्देशनमा अगाडि बढ्ने हो भने ज्योतिले हासिल गरेको जस्तै सफलता कलेजका अन्य विद्यार्थीहरुले समेत हात पार्न सक्ने बताएका थिए । सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ज्योतिका बुबा सुनिलकुमार झाले छोरीको सफलताले आफु धेरै खुसी भएको बताउनुभयो । सानैदेखि पढाइमा लगनशील र अनुशासित आफ्नी छोरीलाई देशकै सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सफल बनाएको भन्दै कलेजलाई उहाँले धन्यवाद दिनुभयो । कलेजका अध्यक्ष डा. यादवको अध्यक्षता भएको सम्मान कार्यक्रममा ज्योतिसहित कक्षा १२ मा उत्र्तिण भएका सबै विद्यार्थीहरुलाई सम्मान गरिएको हो । यस वर्ष कक्षा १२ को परीक्षामा कलेजबाट १ सय ८८ जना विद्यार्थी सहभागी भएकोमा ९१ जनाले ए प्लस र ९५ जनाले ए जिपिएसहित सबै विद्यार्थी उत्र्तिण भएको कलेजले जनाएको छ । यसअघि पनि कलेजका विद्यार्थीहरु पर्सा जिल्ला र प्रदेश २ मा सर्वोत्कृष्ट अंकसहित उतिर्ण हुदै आएका छन । सोही कारणले कलेज पटकपटक उत्कृष्ट कलेजको उपाधिबाट सम्मानित भइसकेको छ ।

त्यसैगरी कलेजका अध्यक्ष डा. यादवले कलेजको स्थापनाकालमा आफुले देखेको सपना विद्यार्थीहरुले पूरा गरेकोमा खुशी व्यक्त गुर्नभयो । वीरगन्जमा नेपालकै शिक्षाको हब बनिसकेको ओम नेशनल कलेजका विद्यार्थीहरुले प्रमाणित गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा जिल्ला शाखा उपाध्यक्ष युवराज खड्का, पत्रकार मनोज पटेल, रेडियो वीरगन्जका बजार व्यवस्थापक मो. जनाब आलम, कलेजका अध्यापक बृजमोहन गुप्ता, संजय चौरसिया, इन्द्र भट्टराई लगायतले विद्यार्थीहरुको उज्जवल शैक्षिक भविष्यको लागि आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण कलेजका अध्यापक श्यामबिकेश महतोले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here