कृपा संवाददाता
पर्सा – पर्साको क्वारेन्टाइनमा बसेकाहरु अईतबार घर फर्किएका छन् । जिल्लाका विभिन्न पालिकाले बनाएको क्वारेन्टाइनमा एक सय ३७ जना बसेर घर फर्किएका छन् । (कोभिड–१९) कोरोना भाइरस संक्रमण फैलिएका विभिन्न ठाउँबाट आएका व्यक्तिमा संक्रमण भए नभएको यकिन गर्न वीरगञ्ज महानगरपालिका सहित पर्साका १० वटा स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाले सिद्धार्थ मावि र केडिया डेन्टल अस्पतालमा ५०÷५० बेड गरी सय बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । त्यस्तै, विन्दबासिनीमा २५ बेड, पोखरियामा २० बेड, छिपहरमाई गाउँपालिकामा १५ बेड, पर्सागढी नगरपालिका, धोविनी, पकाहामैनपुर, पटेवासुगौली, सखुवाप्रसौनी गाउँपालिकामा १०÷१० बेड र कालिकामाई गाउँपालिका ८ बेडको क्वारेन्टाइन छ ।
ती क्वारेन्टाइनमा हाल संक्रमित मुलुकबाट आएका ३९ जनालाई राखिएको छ । बहुदरमाई नगरपालिका, जगरनाथपुर, जिराभवानी र ठोरी गाउँपालिकाले भने क्वारेन्टाइन बनाएका छैनन् ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लाका ११ वटा स्थानीय तहले २ सय १८ बेड क्वारेन्टाइन स्थापना गरेको र सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
‘जिल्लामा २१८ बेड क्वारेन्टाइन छ, संक्रमित मुलुकबाट आएका ३९ जनालाई राखिएको छ । १३७ जना क्वारेन्टाइनमा बसेर फिर्ता भइसकेका छन्,’ उनले भने, ‘ सबै पालिकाले भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको तथ्याङक पनि राखेका छन् ।’
पर्सामा भारतलगायत विदेशबाट आउनेहरुको तथ्याङ्क संकलन गरिएको छ । १४ वटै गाउँपालिकाले प्रशासनलाई बुझाएको रिपोर्टमा ३१६ जना भारत तथा तेस्रो मुलुकबाट आएको उल्लेख छ ।
वीरगञ्जमा ६४, ठोरीमा ४८, जिराभवनीमा ३१, बहुदरमाईमा २७, कालिकामाई र विन्दवासिनीमा १५र१५, छिपहरमाईमा १८, जगरनाथपुरमा २१, धोविनीमा १३, पकाहामैनपुरमा ११, पटेर्वासुगौलीमा १०, पर्सागढीमा १९, पोखरियामा ११, सखुवाप्रसौनीमा १३ जना बाहिरबाट मानिसहरु बाहिरबाट आएको उल्लेख गरिएको छ । साभार : अनलाइन खबर