मनहर्वा,सिमरामा भएको भेलाले शनिबार बारा जिल्ला बक्सिङ्ग संघ गठन गरिएको छ । लामो समयदेखि बक्सिङ्ग खेलमा आवद्ध यूवाहरुको समुहले पहिलो पटक बारा बक्सिङ्ग संघ गठन गरेका हुन् ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा मुख्य ठेगाना रहेको संघले पत्रकार सम्मेलन गरी बक्सिङ्ग संघ गठन बारे जानकारी गराएको हो । सिमरामा आयोजित पत्रकार सम्मेलनमार्फत स्थानीय करण सिंह ठकुरीको अध्यक्षतामा गठित ११ सदस्य संघ पदाधिकारीको घोषणा भएको छ ।
जिल्लामा बक्सिङ्ग खेलको विकास र संवद्र्धन गर्दै स्थापित गर्ने योजनाका साथ संघ गठन गरिएको नवगठित संघका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो । विशेष गरी बाराको सिमरालाई खेलकुद हबको रुपमा विकास गर्ने र जिल्लाको पहिचानमा योगदान दिने अभिप्रायका साथ बक्सिङ्ग संघ गठन गरिएको उहाँले बताउनु भयो ।
बक्सिङ्ग संघले केही वर्ष खेलाडीहरु उत्पादन गर्ने, खेलको आधार तयार गर्ने, त्यसपछिका वर्षहरुमा प्रतियोगिताहरुको आयोजना गर्ने जनाइएको छ । स्थानीय सरकार र शुभचिन्तकहरुको साथ सहयोगमा जिल्लामा बक्सिङ्ग खेललाई स्थापित गराउने योजना रहेको संघका अध्यक्ष ठकुरीले जानकारी दिनु भयो ।
संघले दिएको ८ वर्ष माथिका बालबालिकाहरु पनि बक्सिङ्ग खेलमा आवद्ध हुन सक्ने बताइएको छ । यस खेलबाट आत्मारक्षा, आत्मविश्वास, नेतृत्वकलामा मद्दत पुग्नुका साथै नाम र दाम सहित सहज जीवन यापनमा फाइदा पुग्ने उहाँले भन्नु भयो ।
नवगठित संघको उपाध्यक्षमा मुना सिंह ठकुरी, सचिवमा सन्तोष धिताल, सहसचिवमा निसा लामा र कोषाध्यक्षमा उज्वल सिंह ठकुरी रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, सुजिता मानन्धर, प्रिति श्रेष्ठ, अमनसिंह ठकुरी, रोहन तामाङ्ग र अमृत क्षेत्री रहनु भएको छ । कार्यक्रममा संघमा आवद्ध सबै पधाधिकारी सभागिता रहेको थियो ।