पुष्पराज खतिवडा
मन्हर्वा – बाराका किसानले लगाएको हिउंदे मकै बालिमा दाना नलाग्ने समस्या देखिएको छ । किसानहरुले लगाएको सिपि, श्रेष्ठा लगायतका विभिन्न जातका मकैको घोगामा दाना नलाग्ने समस्या देखिएको हो । घोगामा दाना लाग्नुको सट्टा बोटको टुप्पा (धानचमिरा)मा मसिना घोगासंगै दाना लागेको किसानहरुले बताएका छन् । यस्तो समस्या पहिलोपटक सामना गर्नु परेको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका किसान दिनेश गिरीले बताए ।
चार कठ्ठामा लगाएको श्रेष्ठा जातको मकैमा दान नलागेपछी मकै काटेर भैसिलाई ख्वाएको उनले सुनाए । कतीपयले लगाएको मकै भर्खर सुत्ला पसेको अवस्थामा रहेको छ । तर बोटको टुप्पोमा ससाना घोगामा दाना लागेका छन् । यस अघि कलिल्यै यस्तो नदेखिएको किसानको भनाई छ । नेपालीमा धानचमीरा भोजपुरिमा धनेरा भनिने मकैको माथील्लो भागमा मसिना घोगासंगै दाना लागेको देख्दा अचम्ममा परेको अर्का किसान विनोद कार्कीले बताए ।
धानचमिरामै दाना लाग्न थालेपछी मकै नफल्ने गरेको कतिपयले बताए । महंगो विउ, मल सिंचाई,जोताई गरेर लगाएको बालिमा दाना नलाग्दा चिन्ता लागेको कार्कीले बताए । विउ,मलको पैसा तिर्न बांकी छ । मकै बेचे तिर्ने सर्तमा साहुकहांबाट विउमल ल्याएर लगाएको थिए कसरी तीर्नु उनले गुनासो गरे ।
दशकठ्ठामा मकै लगाएको छु । नफल्ने हो कि भन्ने चिन्ता छ । टुप्पामा मकै फल्न थालेपछी घोगामा दाना के होला । मकै फलेन भने बर्बाद भईन्छ । उखुको भुक्तानी समस्याबाट आजित भएर मकै लगाईयो । मकैले पनी टुप्पोमा दाना फलाउन थालेपछी अचम्मसंगै पिडा थपिएको स्थानिय अर्का किसान ईन्द्र बहादुर थापा मगरले सुनाए ।
जिल्लाको जितपुरसिमरा, कलैया उपमहानगरपालिका, करैयामाई, कोल्हबी लगायतका विभिन्न स्थानमा लगाईएको सयौं विगाह मकैको टुप्पामा दाना लाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । हिउंदे मकै बालिमा दाना नलाग्ने विगतकै समस्या हो । पछिल्ला केही बर्ष यता यो समस्या देखा परिरहेको छ । फुलफुल्ने बेलामा १५ डिग्री भन्दा कम तापक्रम भएका बेला पोलेन मर्छ । जस्ल्ो गर्दा परागसेचन हुन पाउंदैन । त्यसै कारण दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्र बारा प्रमुख जीतेन्द्र यादवले बताए ।
विशेष गरी असोज अन्तीम तथा कार्तिक १५ उता लगाएको मकै बालिले फुल फुल्ने बेला १५ डिग्रि भन्दा कम चिसोको सामना गर्नु पर्ने हुन्छ । कार्तिक १५ पछी मंसिर भरी मकै लगाउने समय हो तर किसानहरुले असोजमा धान काटेलगतै मकै लगाउने गरेका छन् । यस बेला लगाएको अन्न बालिले प्रतिफल राम्रो नदिने गरेको उनले बताए ।
विशेष गरी चन्दन, श्रेष्ठा, सिपि, ३१२२, विराट ९२, सुपर ९५१ लगायतका मकैको जातमा धानचमिरामा दाना देखिएको छ । जितपुरसिमरा १८ मात्रै २ सय हेक्टरबढीमा टुप्पामा मसिना घोगामा दाना लागेको पाईएको कृषि प्रसार अधिकृत राजवंशी चौरसियाले बताए । अन्यत्रको विवरण संकलन गर्दैछौं । टुप्पोमा दाना लागेका मकैका बोटमा वास्तविक घोगा नलागेको समेत पाईएको अनुगमनमा देखिएको उनले बताए । कृषि ज्ञान केन्द्र बाराले मकैमा देखिएको समस्याको वास्तविकता निरिक्षणका लागि अधिकृत चौरसिया र कृषि विज्ञ गेनालाल प्रसाद मण्डललाई खटाएको जनाएको छ ।
मकै खेतीमा देखिउको अनुगमनको वास्तविक प्रतिवेदन सहित उपल्लो निकायमा पठाई समस्या समाधानका उपायको खोजि गरिने ज्ञान केन्द्र प्रमुख यादवले बताए ।