निजगढ,निजगढ नगरपालिकाले बिरामीको घरघरमै पुगेर निःशुल्क उपचार सेवा शुरु गरेको छ ।‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रममार्फत नगरपालिकाले लक्षित समुहका सर्वसाधारणमा मंगलवारबाट सेवा शुरु गरेको हो । नगरपालिका कार्यालयबाट पुगेको स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ११ रतनपुरकी १०२ वर्षिय वृद्धा अम्बिका कार्की र उनकी ६५ वर्षिय बुहारी रनमाया खत्रीको स्वास्थ्य परीक्षण र उपचार गरेर कार्यक्रमको प्रारम्भ गरेका थिए । स्वास्थ्यकर्मीसंग पुग्नुभएका नगर प्रमुख सुरथ पुरीले कार्यक्रमको प्रारम्भ गर्नुभएको हो । नगर प्रमुख सुरथ पुरीले नेपालको संविधानमा स्वास्थ्य उपचारको हकलाई नागरिकको मौलिक हकको रुपमा समावेश गरिको र सोको प्रत्याभूति गर्न नगरपालिकाले कार्यक्रम शुरु गरेको बताउनुभयो । उहाँले कार्यक्रमको प्रभावकारिताका लागि स्वास्थ्यकर्मी रजनप्रतिनिधिहरुले इमान्दारिताका साथ काम गर्नुपर्ने पनि बताउनुभयो ।नगरपालिकाका स्वास्थ्यकर्मीहरु घरमै आएर स्वस्थ्य परीक्षण र औषधि समेत वितरण गरेपछि अम्बिका र बुहारी रनमायाले खुसी व्यक्त गरेका थियो ।कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु सहभागी थिए । नगरपालिकाले उपचार र परीक्षणको लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने सेवाग्राहीहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरेकोे निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले बताउनुभएको छ । उहाँले नगरपालिका स्वास्थ्यकर्मीहरुले नगरका सबै वडामा घरदैलो गरेर लक्षित विरामीहरुको पहिचान गरिसकेको पनि जानकारी दिनुभयो ।
शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका र गम्भीर रोग लागेर ओछ्यानमा परेकाहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभएको छ ।कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरुले बिरामीहरुको घरमा पुगेर सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण, प्राथमिक उपचार र सामन्य प्रकारका औषधिसमेत वितरण गर्ने बताइएको छ । घरदैलोमा खटिने स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिकहरुको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइलगायत रोगको परीक्षण र उपचारसमेत गर्ने जानकारी बताइएको छ । कार्यक्रमपछि विशेष समुहमा पर्ने सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने विश्वास लिइएको छ ।

















