कलैया,अगामी वैशाख १० गते हुने उप–निर्वाचनको बारा निर्वाचन क्षेत्र नम्बर २ मा लागि शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गएिको छ ।
कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । मङ्सिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार वैशाख १० गते सम्पन्न निर्वाचनपछि मतगणना समन्वय समितिको कार्यालयमै हुने छ । जिल्ला न्यायाधीश मुकेश उपाध्यायलाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । निर्बाचन सहज रुपमा निष्पक्ष र स्वच्छ तरिकाले सम्पन्न गराइने उपाध्यायले बताउनुभयो ।निर्वाचन कार्यालय बाराका अनुसार आगामी चैत्र २० गते सोमवार उम्मेदवारको मनोनयन पत्र दर्ता, उम्मेदवारको सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २२ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ । त्यसैगरी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकृत मनोज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारीको विवरण तयार पर्ने काम भइरहेको छ । बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा–२ मा २ सय ८७ जना मतदाता थपिएका छन् ।
त्यसैगरी सो क्षेत्रमा ९२९ जना मतदाता थपिएका छन् । यसअघि मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँ १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६२ थिए भने हाल १ लाख ५ हजार २९८ मतदाता रहेका छन् ।यस क्षेत्रबाट जनता समानजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि चुनाव लडने भएकाले निर्वाचनलाई पनि चासोका साथ हेरिएको छ ।


















