पुष्पराज खतिवडा,
मनहर्वा,बारामा बलात्कारका घटना दिनप्रतिदिन बढेका छन । जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको पछिल्लो तिन वर्षको तथ्याङ्कले जिल्लामा बलत्कारका घटना बढेको देखाएको हो ।
यो अवधिमा १ सय १७ वटा बलत्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन । चालु आर्थिकको असोज महिनासम्म मात्रै ११ वटा मुद्दा दर्ता भएका छन । बलात्कारका घटना जिल्लाको उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा बढी हुने गरेको पनि जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कले देखाएको छ ।
प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ३३ वटा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियोे । जसमा २९ जना प्रक्राउ परेका छन । १८ जना अझै फरार रहेका छन । त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा क्रममा बढेर ४४ वटा मुद्दा दर्ता भएका थिए । जसमा ३७ जना प्रक्राउ परे भने ११ जना अझै फरार रहेका छन ।
यस्तै आर्थिक वर्ष २०७७÷७८ मा ४० वटा मुद्दा दर्ता भएकोमा ४ प्रक्राउ र २४ जना फरार रहेका छन् । चालु आर्थिक वर्ष २०७८÷७९को असोज महिनासम्ममा ११ वटा मुद्दा दर्ता हुँदा ७ जना पक्राउ परेका र ४ जना फरार रहेको बारा प्रहरी प्रवक्ता समेत रहनु भएका प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
यो तथ्याङ्क प्रहरी कार्यालयमा दर्ता भएका घटनाका मात्रै हुन् । ग्रामिण क्षेत्रहरुमा अझ धेरै बलात्कारका घटना हुने गरेको भएपनि कतिपय घटना प्रहरीसम्म आइनपुग्दै गाउँघरमै मिलापत्र गराएर टुंगिने गरेको पाइन्छ । जनप्रतिनिधि, गाउाँका कथित भद्रभलादमीहरु बसेर देनदेनमा बलात्कारीलाई उम्काउने गरेको कतिय घटना सुन्नमा आउने गरेका छन् ।
यस्ता घटनामा मिलाउन खोजेको खबर पाएमात्रै प्रहरीले हस्तक्षेप गरि मुद्दा दर्ता गर्ने गरेको नायव उपरीक्षक मिश्रले बताउनु भयो । बलात्कार जस्तो जघन्य अपराध लेनदेनमा मिलाउन खोज्ने जोसुकैलाई कडा कारर्वाही गर्नुपर्ने महिला अधिकारकर्मी गीता कँडेलले बताउनु भयो ।


















