कलैया,तराई मधेसका जिल्लाहरूमा बुधवार झनै गर्मी बढेको छ । केही दिनयता बढेको चर्को गर्मीका कारण स्थानीयको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।मौसम बदलीसँगै मङ्गलवार केही शितल महसुस भएकोमा बुधवार थप गर्मी महसुस भएको हो ।बुधवार सिमरामा ४१ दशमलव ७ र जनकपुरको अधिकतम तापक्रम ४२ दशलमव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै भैरहवामा ४१ दशमलव ८, नेपालगञ्जमा ४१ दशमलव ६ र विराटनगरमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।तराई मधेसका सबैजसो ठाउँहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सिय वा त्योभन्दा बढी पुगेको छ । अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा तातो हावा चल्छ ।तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घरबाहिर निस्कनसमेत मुस्किल पर्न थालेको छ । तराई मधेसमा अझै झन्डै पाँच दिन तातो हावा चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तातो दिनसम्बन्धी विशेष बुलेटिन निकालेर आउँदो पाँच दिन तराई मधेसमा तातो हावा चल्ने सम्भावना कायमै रहेकोले सावधानी अपनाउन सुझाव दिएको छ ।यस वर्ष मनसुन भित्रन केही ढिला हुने भएकोले गर्मी बढ्ने भएको हो । नेपालमा मनसुन भित्रने औसत समय जुन १३ हो । तर यस वर्ष एक हप्तासम्म ढिला हुन सक्ने महाशाखाले जनाएको छ ।गर्मी बढेसँगै तराई मधेसका धेरैजसो विद्यालय बन्द गरिएका छन् । गर्मीकै कारण अस्पतालहरूमा बिरामी बढ्न थालेका वीरगञ्जको नारायणी अस्पतालले जनाएको छ । पानी अभावका कारण किसानहरूले खेतमा धानको बिउ छर्न सकेका छैनन् भने कतिपय ठाउँमा बिउ सुक्न थालेका छन् ।तातो हावा चल्दा थकाइ लाग्ने, कमजोरी महसुस हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ताजस्ता लक्षण देखिन्छन् । तातो हावा तथा ’लु’ बाट बच्न बढी गर्मीको समयमा घरभित्र बस्न, हलुका लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, पटक–पटक पानी, जुस तथा सर्बत प्रशस्त मात्रामा पिउन डाक्टरले सुझाव दिएका छन् ।यसैबीच बिहीबार दिउसो मध्यतराईको तापक्रम ४२ डिग्री मापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here