निजगढ,आइतवार सम्पन्न उपचुनावको मत परिणाम सार्वजनिक हुनेक्रम शुरु भएको छ । आइतवार राति ११ बजेसम्म कालिकोट, रुकम र ओखलढुङ्गामा वडा अध्यक्षको मत गणना सकिएको हो ।जसअनुसार प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै कालिकोटको तिलगुफा नगरपालिका– ४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ ।
नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जित्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याउनुभएको छ । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् । एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाउनुभएको छ । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याउनुभयो । ०७९ को चुनावमा यहाँ माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । माओवादीका परबहादुर शाहीले २३४ मत ल्याएर वडाध्यक्ष जित्दा नेमकिपाका दिपबहादुर शाही १६१ मत सहित निकटतम प्रतिद्वन्द्वी बन्नुभएको थियो ।
उता, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्री ५ सय ९० मतसहित विजयी हुनुभएको हो । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गर्नुभएको छ । वियजी उम्मेदवार खत्री नेकपा एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनुभएको थियो ।त्यसैगरी ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ । मोलुङ गाउँपालिका– ५ को वडाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार गंगा तामाङ ३९९ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो भएका छन् । रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले १ सय ५१ मत ल्याउनुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याउनुभएको छ ।
यता, रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी हुनुभएको हो । उहाँका नकटतम प्रतिस्पर्धी एमालेका शेख अनवरले ५७५ मत ल्याउनुभएको छ ।तेस्रो स्थनामा नेकपा एकीकृत समाजवादीका सदरे अलामले ४५२ मत पाउनुभयो । यहाँ २०७९ को निर्वाचनमा नेकपा एमालेका शेखखली उल्लाह विजयी हुनुभएको थियो ।त्यसैगरी महोत्तरीको रामगोपालपुर नगरपालिका– २ मा नेकपा एमाले विजयी भएको छ । त्यहाँ नेकपा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी हुनुभएको हो ।प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाउनुभयो ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाउनुभएको छ भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत पाउनुभएको छ ।यस वडामा २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका मुकेश यादव ४३३ मत ल्याएर निर्वाचित हुनुभएको थियो । अहिलेको उपनिर्वाचनमा मुकेशकी श्रीमतीलाई माओवादीले उम्मेदवार बनाएको थियो ।

















