जनकपुरधाम,सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा प्रेसर कुकुर बम विष्फोट भएको छ । आइतबार दिउँसो पौने एक बजेतिर भएको विस्फोटबाट ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । आफू घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरिसकेको उहाँले बताउनुभयो । विस्फोट गराउनेको पहिचान खुलेको छैन । तराई मधेशमा सशस्त्र विद्रोह गरिरहेको जनतान्त्रिक गोइत समूहको दोस्रो तहका नेता रामविलास यादवले आज नै जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेकाले त्यही घटनाको प्रतिक्रिया हुन सक्ने अनुमान गरेको तर अनुसन्धानपछि थप कुरा थाहा हुने एसपी राजभण्डारीले बताउनुभयो ।
यसैबीच बिम विपोस्टको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । घटनालगतै गोइतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो । मधेश स्वतन्त्र देश हुनु पर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । अहिले उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनेपनि विज्ञप्तिमा उल्लेख गरिएको छ । समूहले अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारवाही गर्ने चेतावनीसेमत दिएको छ । विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका वडा नम्बर १३ का भोला बहादुर मगर, गोलबजार नगरपालिका वडा नम्बर ६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका वडा नम्बर १६ का लाल बहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रि नारायण यादव, धनगडीमाई नगरपालिका वडा नम्बर ४ का दिनेश भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो । घाइते हुनेहरुमा सेवाग्राही दिनेश कुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ । दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अङ्गमा बमको छर्रा लागेको छ । उहाँका अनुसार दिनेशको सप्तरीस्थित एक अस्पतालमा उपचार पछि आइतबार साँझ थप उपचारको लागि काठमाण्डौं पठाइएको छ ।