निजगढ,फिटवेल गार्मेन्टका प्रोपाराइटर मनोज भारतीले निजगढ नगरपालिका वडा नम्बर ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयका १ सयजना गरिव तथा जेहेन्दार छात्रछात्रालाई शुक्रबार विद्यालय पोसाक र झोला सहयोग गर्नु भएको छ । भारतीले कोरोना बीमाबापत आफूले प्राप्त गरेको रकम खर्चेर बालबालिकालाई एक÷एक थान पोसाक र झोला सहयोग गर्नुभएको हो ।
निजगढ नगरपालिका वडा नम्बर ७ घर भएका व्यवसायी भारती हाल काठमाण्डौंमा बसेर फिटवेल गार्मेन्ट संचालन गर्दै आउनुभएको छ । गत वर्ष असोजमा कोरोना संक्रमित बन्नु भएका भारतीले बीमाबापत १ लाख रुपैया प्राप्त गर्नुभएको थियो । ‘संयोगले मलाई मात्रै कोरोना भयो, विद्यालयमा आयोजित कार्यक्रममा भारतीले भन्नुभयो, त्यसैमा थप रकम खर्चेर बालबालिकाको लागि स्कुल पोसाक र झोला सहयोग गरेको हुँ ।’ विद्यालयको आग्रहमा बालबालिकालाई सहयोग गरेको भारतीले बताउनुभएको छ ।
कोराना महामारी तीव्र फैलिन थालेपछि आफूसहित गार्मेन्टका सबै कामदार र कर्मचारीको गत वर्ष बीमा गराउनुभएका भारतीले बीमाबापतको रकम भने ६ महिनाअघि मात्रै प्राप्त गर्नुभएको थियो । ‘पैसा आएपछि कतै सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो, भारतीले भन्नुभयो, घर परिवार र अभिभावकको सल्लाहमा बीमा रकममा ५० हजार थपेर विद्यार्थीलाई सहयोग गर्ने निर्णय गरेँ ।’
बीमाबाट प्राप्त भएको रकम बालबालिकाको लागि खर्च गर्न पाउँदा आफूलाई खुसी लागेको पनि बताउनुभयो ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच भारतीले उपलब्ध गराउनुभएको पोसाक र झोला विद्यार्थीलाई वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन डिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा भारतीसहित नगरपालिकाकी उप्रमुख लिलादेबी लामिछाने, कार्यपालिका सदस्य जगतकुमार अधिकारी, पवन विश्वकर्मा र भारतीकी माता एंव निजगढकी समाजसेवी सावित्री भारतीलगायतले विद्यार्थीलाई पोसाक र झोला वितरण गर्नुभएको थियो ।
बीमाको रकम खर्चेर बालबालिकालाई सामग्री सहयोग गरेको भन्दै विद्यालयले भारतीको सम्मान पनि गरेको छ । विद्यालयका प्रधानाध्यापक कुलबहादुर अस्थानी र व्यवस्थापन समितिका अध्यक्ष मोहन डिसीले बालबालिकालाई सहयोग गरेको भन्दै भारतीलाई प्रसंशा पत्रव्दारा सम्मान गर्नुभएको हो ।
समितिका अध्यक्ष डिसीको अध्यक्षतामा भएको सो कार्यक्रमका वक्ताले भारतीको सहयोगको प्रशंसा गरेका थिए । ‘व्यवसायी भारतीले उदाहरणीय कार्य गर्नु भएको छ, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछानेले भन्नुभयो, भारतीबाट सिकेर अन्यले पनि यसरी नै समाजसेवामा लाग्न सके समाजमा संवृद्धि आउँन धेरै समय लाग्दैन ।’ उहाँले मान्छेको रुपमा जन्म लिएपछि जीवनमा किर्ति रहने कार्य गर्नु पर्ने र भारतीले सबैले सम्झन लायक कार्य गरेको पनि बताउनुभयो । विद्यालयका प्रधानाध्यापक अस्थानीले पोसाक र झोला वितरणले गरिव र विपन्न परिवारका विद्यार्थीहरुको पठनपाठनमा राहत मिलेको भन्दै सहयोगको लागि भारतीलाई धन्यवाद दिनु भएको थियो ।