पुष्पराज खतिवडा

मनहर्वा,निम्बस ग्रुपले उत्पादन गरेको शक्तिप्लेट दानामा बालुवा मिसाएर ठगी गरेको पाइएको छ । सो ग्रुपको प्रोवायोटेक इण्डष्ट्रिज प्रा.लि.पर्साले उत्पादन गरेकोे दानामा अत्याधिक बालुवा फेला परेकोे हो ।

मोटो दाना भएकोे ३५ केजीको बोरामा चार किलोग्राम बढी बालुवा फेला परेको किसानहरुले बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वाकी पशुपालक किसान मेनुका अधिकारीले एक किलो दानामा सवा सय ग्रामभन्दा बढी बालुवा भेटिएको बताउनु भयो ।

दानामा फेला परेको बालुवा देखाउँदै अधिकारीले किसान ठग्न कम्पनीले दानामा बालुवा मिसाएको हुन सक्ने बताउनु भयो । केही दिन अघिबाट बेलुका दाना भिजाउने र विहान गाईलाई खुवाउने क्रममा बालुवा फेला परेको उहाँले बताउनु भयो ।

यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १६ झिट्कैंयाका किसान राजकिशोर कुश्वाहले पनि निम्बसको शक्ति प्लेट दानामा बालुवा हालेर कम्पनीले किसान ठगी गरिरहेको गुनासो गर्नु भयो । पौष्टिक आहार भन्दै दाना खुवाएर दुध उत्पादन वृद्धि गर्न महँगोमा दाना किन्ने गरेको तर कम्पनीले बालुवा हालेर पशुको स्वास्थ्यमा खेलवाड गरिरहेको उहाँले बताउनु भयो । यस्तो कम्पनीहरुको उत्पादन बन्द गर्ने र संचालकलाई कार्वाही गर्नु पर्ने उहाँको भनाइ छ ।

दुध उत्पादक किसानहरुले दुधको उत्पादन बढाउने लोभमा चर्को मुल्यमा स्थानीय डेरीमार्फत निम्बस ग्रुपको उत्पादन खरिद गर्दै आएका छन् । डेरीले सो दाना करिब ३ वर्ष अघिबाट बिक्री वितरण गर्दै आएको हो । यसअघि पनि सोही कम्पनीको दानामा यस्तो समस्या आएको र गुनासो गरेपछि सुधार भएको डुमरवाना डेरीका कम्पनी व्यवस्थापक दिपक घिमिरेले बताउनु भयो । ‘पशु आहारमा दानामा अखाद्य वस्तु मिसाएर बिक्री वितरण गर्नु भनेको ठगी हो, घिमिरेले भन्नु भयो, यस्तो कम्पनीलाई कानुन अनुसार कारबाही गरिनु पर्छ ।’

बालुवाको अधिक सेवनले पशु पंक्षीको स्वास्थ्यमा गम्भीर समस्या आउने जीतपुरसिमरा उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख एंव पशु चिकित्सक प्रतितकुमार राईले बताउनु भयो । दानामा बालुवा मिसाएर बिक्री वितरण गरेको पाइए त्यस्ता कम्पनीको उत्पादन बिक्री वितरणमा रोक लगाउनु पर्ने उहाँले बताउनु भयो ।

यता, कम्पनीका टेक्नीकल अफिसर निर्मल बिष्टले दानामा खनिज तत्वका रुपमा २ प्रतिशतका दरले कैल्साईट (एक प्रकारको ढुँगाको धुलो) मिसाउने गरिए पनि ठगी गर्ने उद्देश्यले बालुवा नहालिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here