हेटौडा,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् । शनिबार बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले– ३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएका छन् । एक जनाको चितवनमा उपचार भइरहेको छ ।

घटनापछि बसमा आगजनी भएको छ । आगो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल घाइते भएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेकाहरुलाई ठक्कर दिएको थियो । त्यसैगरी महोत्तरीमा देउसी भैलो खेल्न हिँडेका एक युवाको ट्याक्टरबाट खसेर ज्यान गएको छ । रजखोरबाट रामनगर जाँदै गरेका गौशाला नगरपालिका वडा नम्बर–४ रजखोरका २२ वर्षका अजय रानाको ट्याक्टरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टरबाट खसेर घाइते भएका रानाको शनिबार उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

Leave a Reply