जीतपुर,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमूल्लाह मंसुरले आगामी निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताउनु भएको छ । उहाँले निर्वाचनपछि तीनै वटै तहहरुमा कांग्रेशको सरकार बन्ने ठोकुवा पनि गर्नुभयो ।

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ ले शुभ दिपावली तथा छठ पर्वको अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै पूर्वमन्त्री मंसुरले संघीय, प्रदेस र अधिकांश स्थानीय तहमा पनि नेपाली कांग्रेसको बहुमतसहितकोे सरकार बन्ने बताउनुभयो ।

नेपाली कांग्रेसको पक्षमा अहिले देशव्यापी रुपमा जनमतको लहर आएको बताउदै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले बहुमत दिने पनि बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षसम्म जनताको हित र विकास निर्माणको बारेमा काम गर्नुको सट्टा आफू कसरी बलियो हुने भन्नेमात्र कार्य गरेको र माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड जस्ता आफ्नै पार्टीका नेताको पनि अपमान गरेको आरोप लगाउनुभयो ।

‘ओली नेतृत्वको सरकारले तीन वर्षसम्म जनताको पक्षमा एउटा पनि उल्लेखनीय काम गरेन, नेता मन्सुरले भन्नुभयो, ओलीबाट जनताले हावादारी गफ र आश्वास बाहेक केही पनि पाएनन ।’

पार्टीभित्र आफ्नो गुट बलियो पार्न ओलीले राज्यका विभिन्न निकायलाई नातागोता भर्ती केन्द्र बनाएर संविधानलाई समेत अपदस्थ पार्न दुईदुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो । ‘ओलीको तानाशाही शासन अन्त्य गरेर संविधान, लोकतन्त्रको संरक्षणको लागि नेपाली कांग्रेस अगाडि सरेर सरकारको नेतृत्व गरेको हो, पूर्वमन्त्री मंसुरले भन्नुभयो, लोकतन्त्र र विधिको शासन कायम गर्ने आन्दोलनको मोर्चामा कांग्रेश जहिले पनि अग्रस्थानमा उभिदै आएको छ ।’

हाल देशमा पार्टी सभापती शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि नेपाली जनताले देशमा सरकार रहेको अनुभुति गर्न थालेको पनि उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापती जयचन्द्र चौरसिया, संविधान सभाका सदस्य डा.शोभाकर पराजुली, गत निर्वाचनमा बारा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्यका प्रत्याशी रामानन्द यादव, नेपाली कांग्रेस बाराका सहसचिव देवेन्द्र उपाध्याय, स्थानीय निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेशबाट नगर उपप्रमुखकी प्रत्याशी नारायणी रायमाझी, क्षेत्र नम्बर ३ का पार्टी सभापती मुकेश कुशवाहा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापती श्यामबाबु गुप्ता लगायतले शुभकामना मन्तव्य दिनुभएको नेपाली कांग्रेसका युवा नेता मुकेश यादवले जानकारी दिनुभयो ।

जीतपुरसिमरा वडा नम्बर १२ बुथ कमिटी सभापती विश्वनाथ साहको सभापतित्वमा भएको सो कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर पूर्वमन्त्री मंसुरले सम्मान पनि गर्नु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here