निजगढ,निजगढ नगरपालिकाले आँखा पाक्ने रोगीका बिरामीहरुलाई निशुल्क औषधीको व्यवस्था गर्ने भएको छ ।निजगढमा पनि केही दिनदेखि आँखा पाक्ने रोगको प्रकोप बढेपछि नगरपालिको निशुल्क औषधीको व्यवस्था गरेको हो । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि निजगढ नगरपालिकाले नगरभित्रका सवै स्वास्थ्य चौकी, अस्पतालमा निशुल्क औषधीको व्यवस्था गरेको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभएको छ ।उहाँले रोगको संक्रमण भएपछि आँखा रातो हुने, चिलाउने वा चिपचिप हुने जस्ता लक्षण देखापर्ने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख लामाले आफू खुशी औषधी प्रयोग गर्दा समस्या थप जटिल हुने भएकाले स्वास्थ्यकर्मीको सल्लाहामात्र औषधिको प्रयोग गर्न सुझाव दिनुभएको छ ।यसैबीच आँखा पाक्ने रोगको प्रकोप बढेपछि जनकपुरधाम उपमहानगरका विद्यालयहरू एक साताका लागि बन्द गरिएको छ ।प्रकोप बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरू भोलिदेखि एक साताका लागि बन्द हुने भएका छन । रोगको प्रकोप बढेकोले विद्यालयहरुमा एकसाताको बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले बताउनुभयो । जनकपुरधाम उपमहानगरले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको र जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।


















