पोखरिया,पर्साको पोखरिया नगरपालिका अन्तर्गत रहेको पोखरिया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले दशैंमा तलब नपाएको बताएका छन् । नगरपालिकाका जनप्रतिनिधिहरुको स्वार्थका कारण अहिलेसम्म नगरसभा हुन नसकेपछि स्वास्थ्यकर्मीहरुले दशैंमा तलब नपाएको बताएका हुन ।
चालु आर्थिक वर्ष २०७८÷०७९ शुरु भएको समयदेखि कर्मचारीहरुले हालसम्मको तलब पाउन सकेका छैनन् । दशैंमा समेत तलब नपाउँदा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
स्थानीय सरकारभित्र रहेका कार्यालयका कर्मचारीको तलब नपाउँदा नेपालीहरुको मुख्य चाड दशैतिहार नै खल्लो भएको उनीहरुको दुखेसो छ । जनप्रतिनिधिहरुको लापराबाही र उदासिनताले अहिलेसम्म नगरसभा नभएकाले दशैमा पनि अस्पतालका कार्यरत करिब ५० जना स्वास्थ्यकर्मीले तलब नपाएको बताएका छन । दशैंको मुखमा समेत तलब नपाउँदा आफूहरुलाई निकै समस्या भएको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्ड डा.संजय गुप्ताले बताउनुभयो ।
चालु आर्थिक बर्ष २०७८÷०७९ का लागी नगरपालिकाको नगर सभा हुन नसकेपछि तलब निकासीमा समस्या भएकाले स्वास्थ्यकर्मीले साउनदेखि यताको तलब नपाएको डा.गुप्ताको भनाइ छ ।
पोखरिया नगरपालिकाकाकी उपप्रमुख सल्मा खातुनले पालिकाको नगरसभा अहिले सम्म सम्पन्न हुन नसकेपछि पालिका मातहतका विभिन्न क्षेत्रका कर्मचारी र स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको बताउनुभयो । उहाँले नगरसभा गर्नको लागि पटकपटक प्रयास गरिए पनि हालसम्म हुन नसकेकोमा दुख लागेको बताउनुभयो । उहाँले नगरसभा हालसम्म सम्पन्न हुन नसकेको बिषयमा थप जानकारी नगरप्रमुखबाट लिन र बुझन् आग्रह गर्नुभयो ।
चाडपर्वको समयमा पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तलब खुवाउन नसकिएकोमा दुख लागेको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनीयारले बताउनुभयो । उहाँले नगर सभा हुन नसकेकोले समस्या भएको र यसका लागि पटक पटक प्रयास भए पनि केहि वडाका योजना छनौटमा राजनीतीकरण भएपछि नगरसभा सम्पन्न हुन नसकेको बताउनुभयो । पोखरिया नगरपालिकाका नगर प्रमुख रौनीयारले दशैपछि कुनै पनि हालतमा नगरसभा सम्पन्न गर्ने गरी तयारी भइरहेको पनि बताउनुभयो । उहाँले विगत चार वर्ष यता यसपटक नगरसभामा ढिलाइ भएको पनि जानकारी दिनुभयो ।