मुलतः कोरोना महामारीका कारण अस्तव्यस्त बनेको नेपालको अर्थतन्त्र बिस्तारै चलायमान हुने बाटोमा लागेको छ ।
कोरोना संक्रमणका कारण बन्द भएका कलकारखाना चालु हुन थालेका छन् भने बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमन पनि बिस्तारै शुरू भएको छ । सरकारले खोप अभियानलाई तीव्र बनाएपछि विदेशी पर्यटकको आवागमन, नेपालबाट विदेश काम गर्न जाने कामदारको आप्रवाहसँगै नेपालको आर्थिक वृद्धिदर उकालो लाग्ने नेपालका आर्थिक विज्ञहरूले बताइरहेका बेला विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा १ दशमलव ८ प्रतिशत र सन् २०२२ मा ३ दशमलव ९ प्रतिशत पुग्ने आर्थिक भविष्यवाणी गरेको छ ।
नेपालका आर्थिक सूचकहरू बिस्तारै बढ्दो क्रममा रहेकाले पनि उक्त लक्ष्य हासिल गर्न नेपाललाई कुनै कठिनाई नहुने प्रक्षेपण गर्नुले नेपालको अर्थतन्त्र बिस्तारै उकालो लाग्न लागेको भान हुन्छ । सरकारले अहिले शुरू गरेको खोप अभियानलाई निरन्तरता दिनसके यसले हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । मुलुकमा सरकार छ कि छैन भन्ने अवस्थालाई चिर्न सत्ताधारी दलहरूबीच एक मत हुन जरुरी छ । सत्ताका लागि जे पनि गर्न पछि नपर्ने नेपाली नेताहरूको स्वभावलाई लिएर भने बैंकले चिन्ता गरेको देखिन्छ । विश्व बैंकले दक्षिण एसियाली आर्थिक अवस्थाका बारेमा तयार पारेको प्रतिवेदन हेर्दा चुनौतीहरू भने यत्रतत्र देखिन्छन् ।
विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै चालू वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदर बढे पनि कोरोना संक्रमण हुनु अघिको अवस्थामा फर्कन भने नसक्ने ठोकुवा गर्नुले नेपाललगायत यस क्षेत्रका मुलुकमा धनी र गरिब बीचको दूरी अझै बढ्ने संकेत मिल्दछ ।