वीरगञ्ज,
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको गाडी मोबाइल टोलीले ठूलो मात्रामा अवैध सामग्री बरामद गरेको छ । टोलीले भारततर्फ जाँदै गरेको टाँगा चेकजाँच गर्दा फल्स बटम बनाएर लुकाइएका १७ लाख १० हजार ६५० रुपैयाँ बराबरको भेप (इलेक्ट्रिक चुरोट) र दुई किलो १७१ ग्राम चाँदी फेला पारेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहका अनुसार टाँगामा लुकाइएको अवस्थामा ४५० थान भेप इलेक्ट्रिक चुरोट बरामद गरिएको छ । सो चुरोट तथा घोडाको टाँगा सहित नियन्त्रणमा लिइएको छ ।
यसैगरी, भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्ति, पूर्वी चम्पारण घोडासहन ग्राम पोष्ट ११ बासुकीनाथका १८ वर्षीय गोपाल कुमारको साथबाट दुई किलो १७१ ग्राम चाँदी बरामद गरिएको छ । सशस्त्र प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्दा गोपाल कुमारको झोलाबाट चाँदी फेला परेको हो । उक्त चाँदीको बजार मूल्य तीन लाख २५ हजार ६५० रुपैयाँ रहेको छ ।



















