कलैया,प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । प्रधानमन्ँत्री देउवाले शुक्रबार विस्तार गर्नु भएको मन्त्री परिषदमा बाराबाट उमाकान्त चौधरी खानेपानी र रामसहाय यादब वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको छ । चौधरी बारा क्षेत्र नम्बर १ र यादब क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार नियुक्त भएका १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । यस्तै नव नियुक्त भएका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको हो । देउवाले कांग्रेसबाट हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । कांग्रेसबाट यसअघि बालकृष्ण खाण गृह, नारायण खड्का परराष्ट्र मन्त्री भइसकेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट रेणु यादव भौतिक पुर्वाधार तथा यातायात मन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरण मन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन्। नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाउनुभएको छ । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त हुनुभएको छ । रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, प्रेम आले सहरी विकास मन्त्री बन्नुभएको छ । देउवाले माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुषाल हुनुहुन्छ ।


















