कोल्हबी,विगत दुई महिनादेखि बन्द रहेका बारागढी गाउँपालिकाका विद्यालयहरुमा मंगलवारबाट भौतिक उपस्थितिमै संचालन भएको छन । गाउँपालिकाले सुरक्षा उपाय अपनाएर कक्षा संचालन अनुमति दिएपछि विद्यार्थीको प्रतक्ष्य उपस्थितिमा विद्यालयले कक्षा संचालन थालेका हुन ।
बारागढी गाउँपालिकाले साउन ३ गते आईतवार एक सूचना जारी गर्दै सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले भौतिक उपस्थितिमै साउन ५ गतेदेखि संचालन गर्न दिने सूचना सार्वजनिक गरेको थियो । गाउँपालिकाबाट जारी सूचनामा कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालयहरुमा भौतिक रूपमा उपस्थित भई शैक्षिक सत्र २०७८ सालको पठनपाठन अहिलेसम्म सुरु नभएको र कोभिड–१९ संक्रमण न्यून भईसकेकोले विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन लागिएको उल्लेख छ । गाउँ शिक्षा समितिको असार ३० को निर्णयानुसार विद्यालयहरुमा विद्यार्थीहरुलाई समूहमा विभाजन गरी सामाजिक दुरी कायम गर्दै कक्षा संचालन हुनेछ । यसका साथै पूर्णरूपमा सरसफाइ तथा सुरक्षाका उपायहरु अपनाई विद्यालयहरु संचालन हुनेछन् ।