नविन चौधरी

वीरगन्ज,पर्सा जिल्लामा रहेको सर्वोत्तम स्टिलमा बुधबार एक मजदुरलाई करेन्ट लागेर मृत्यु भएको छ । घटनामा थप एकजना मजदुर घाइते भएका छन ।
मजदुरको भाइब्रेसन मेसिन सम्याउने क्रममा तार सर्ट भइ बर्दिया जिल्लाको बर्दिया नगरपालिका १ का १७ वर्षीय रबिन थारुको मृत्यु भएको हो भने बर्दियाकै राजापुर नगरपालिका ६ बस्ने ३० वर्षीय सिताराम थारु घाइते भएको प्रहरीले जनाएको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२ स्थित जगरनाथपुरमा रहेको सो स्टिल कम्पनीको थप उद्योग भवन बनाउने क्रममा तल्लो तल्लाको जग ढलानका लागि सिमेन्ट र गिट्टी बालुवाको मिश्रण गर्ने भाइब्रेसनमा काम गर्दा तार सर्ट भइ करेन्ट लागेर दुबै जना घाइते भएका थिए ।
घाइते भएका दुबै जनालाई उपचारको लागि बयोद्धा अस्पताल वीरगन्जमा लगिएको थियो । उपचारको क्रममा रविनलाई सो अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । घाइते सितारामको उपचार भइरहेको तथा घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

















