नरेश गुप्ता

बरियारपुर,नेपाली कांग्रेस बाराको सभापती पदमा राजेश राय यादबलाई समर्थन गर्ने रामानन्द यादब पक्षको निर्णय विरुद्ध सोही समूहका प्रभावशाली मानिएका युवा नेताहरुले असन्तुष्टि जनाएका छन । आफ्नो समुहको निर्णय विरुद्ध उनीहरुले जिल्ला सभापती पदमा शुम्भुबहादुर बुढाथोकीलाई मतदान गर्ने घोषणा पनि गरेका छन ।

पहिलो चरणको मतदानमा ७ सय ८ मत ल्याएर प्रतिस्पर्धाबाट बाहिरिएका रामानन्द यादव पक्षले सभापति पदका उम्मेदवार राजेश राय यादवलाई समर्थन गर्ने निर्णय शुक्रवार गरेपछि उनकै प्यानलबाट सचिव पदका उम्मेदवार राजेश रौनियार, उपसभापती पदका उम्मेदवार तथा जिल्ला कार्यसमितिका पूर्वसचिव मनोज भट्टसहितका नेता कार्यकर्ताहरुले सो निर्णयप्रति असन्तुष्टि जनाउदै विद्रोह गरेका हुन ।

उनीहरुले शनिबार कलैयामा पत्रकार सम्मेलन गर्दै जिल्ला सभापती पदमा बुढाथोकीलाई जिताउन पनि आग्रह गरेका छन । पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवार भट्ट्ले आफूहरुले पार्टीभित्र परिवारवादको विरोध गर्दै आएको र अब फेरि व्यक्तिवादी परिवारवादलाई समर्थन गर्न नसकिने बताउनुभयो । उहाँले कांग्रेश नेता राधेचन्द्र यादव र उहाँका छोरा राजेश यादवको गलत प्रवृत्तिले पार्टी धराशयी बन्दै गएको पनि बताउनुभयो । जिल्लामा उनीहरुले परिवारका सद्स्य बाहेक अरु कसैलाई पनि अगाडि बढन अभिप्रेरित नगरिएको आरोप पनि लगाउनुभयो ।

कार्यक्रममा बुढाथोकीको समर्थनमा शुरुदेखि नै सहयोग गर्दै आउनुभएका पार्टीको सहमहामन्त्री फरमुल्लाह मन्सुरले नेपाली कांग्रेस बारामा परिवर्तनको खांचो रहेकोले अब सबै शक्ति मिलेर परिवारवादलाई पराजित गर्नुपर्ने बताउनुभयो ।

उहाँले सभापती पदका अर्का प्रत्याशी राजेश यादवसंग नेपाली कांग्रेस पार्टी चलाउने क्षमतावान र कुशल व्यक्तित्वशाली गुण नदेखिएको बताउनुभयो । आइतवार हुने दोस्रो चरणको चुनावमा बुढाथोकीको जित निश्चित रहेको उहाँले दाबी गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा प्रतिनिधि सभासद्स्य रामअयोध्याय यादवले नेपाली कांगे्रस बारामा जातिवादको नारा भ्रम मात्र रहेको बताउनुभयो । विगत २० वर्षदेखि नेपाली कांगे्रस बारामा राधेचन्द यादवले परिवारवादको एकलौटी शासन गरेको र अहिले फेरि छोरा राजेश राय यादवलाई सभापती बनाउन खोजेपछि पार्टीभित्र परिवारवाद कसरी हाबी भएको छ भन्ने कुरा प्रष्ट भएको उहाँले बताउनुभयो ।

कलैयास्थित दरबार होटलमा आयोजित पत्रकार सम्मेलनमा सभापती पदका उम्मेदवार शम्भुबहादुर बुढाथोकी, महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादव, सचिव पदका उम्मेदवार राजेश रौनियार, राजेश कुशवाहा, जिल्ला सभापति जयचन्द्र चौरसिया, वडा अध्यक्ष हरिओम साह सोनारलगायतको सहभागिता रहेको थियो ।

यसैबीच नेपाली कांग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुने भएको छ । शनिबारको लागि तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।

पहिलो चरणको मतदानमा सभापती पदका उम्मेदवार राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापनइतरका हुन् । दास्रो चरणमा रामानन्द यादव पक्षको समर्थन पाउने भएपछि राजेश रायकोे जित निश्चित जस्तै देखिएको छ । रामानन्दले शुक्रवार कलैयामा पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको मतदानमा आफ्नो समुहले राजेश रायलाई समर्थन गर्ने घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here