नयाँ दिल्ली । सन् २०२२ को फेब्रुअरीको अन्त्यतिर रुसले युक्रेनमाथि आक्रमण गरेयता भारतले ठुलो मात्रामा छूट मूल्यमा रुसी तेल किनिरहेको छ । पछिल्ला केही महिनामा तेल खरिद केही सुस्ताएको भए पनि रुसबाट कच्चा तेल भारत भित्रिने क्रम रोकिएको छैन । आगामी केही हप्तामा रुसी तेल भरिएको ट्याङ्करहरू भारत आइपुग्दै थियो । तर अमेरिकाले यी मध्ये तीन वटा ट्याङ्करमा प्रतिबन्ध लगाइदिएको छ ।
भारतको अंग्रेजी समाचार साइट इन्डियन एक्सप्रेसमा छापिएको समाचारका अनुसार आगामी केही हप्ताभित्र भारतीय तेल प्रशोधन कम्पनीका लागि रुसी कच्चा तेल ल्याइ पुर्याउन लागेका ट्यांकरहरूमध्ये तीन वटा ट्यांकर अमेरिकाको प्रतिबन्धमा परेका छन् । पश्चिमी देशहरूले रुसी तेलमाथि लगाएको मूल्य सीमा भन्दा बढी मूल्यमा तेल ओसारिरहेको भेट्टाएपछि अमेरिकाले गएको शुक्रबार १४ ओटा रुसी तेल ट्यांकरलाई कालोसूचीमा राखेको थियो ।



















