निजगढ, बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा सर्पदंशबाट एक जना बालकको ज्यान गएको छ ।
जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवन घर भई हाल निजगढ नगरपालिका ८ बजार टोलमा बसेर निजगढमा सरसफाइको काम गर्दै आएकी सुनैनादेवी मलीको ९ वर्षिय नाती राहुलको गत मंगलवार सर्पको टोकाइबाट ज्यान गएको हो ।

अघिल्लो राती नै सर्पको टोकाइमा परेका राहुलका अभिभावक र परिवारका सदस्यहरुले सर्पले टोकेको जानकारी नपाएपछि उपचार अभावमा उनको घरमै ज्यान गएको हो ।घटनाअनुसार सोही राती राहुलका हजुरआमा सुनैनादेबीलाई पनि सर्पले टोकेको थियो । परिवारका सदस्यहरुले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा प्राथमिक उपचार गराएपछि थप उपचारको लागि उनलाई सोही दिन वीरगञ्ज पु¥याएका थिए । तर सोही समयमा सर्पदंशमा परेका राहुललाई सर्पले टोकेको बारेमा भने आफन्तहरुले जानकारी नै नपाएपछि उपचार अभावमा उनको ज्यान गएको राहुलका मामा अजय मलीले बताउनुभयो । ‘हजुरआमाले आफूलाई सर्पले टोकेको बताउनुभयो, हामी सबै उहाँको उपचारमा लाग्यौं, उहाँले भन्नुभयो, तर भोलिपल्ट बिहान बिछ्यौनामा अचेत अवस्थामा फेला परेपछि मात्रै राहुललाई पनि सर्पले टोकेको र ज्यान गएको जानकारी भयो ।’

सुनैनाको हाल वीरगञ्जस्थित नारायणी प्रादेशिक अस्पतालमा भर्ना गराएर उपचार भइरहेको छ ।निजगढ– ७ स्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको युकेजीमा अध्ययनरत राहुल दिउसो काघाँट मन्दिर गएर साँझ मात्र घर फर्केका थिए । सर्पले टोकेपछि राहुल केहीबेर छटपटाएको भएपनि आफन्तले मेलाबाट आएको र थकाइले होला भन्ठानेर पानी खुवाएर उनलाई फेरि सुताएका थिए । बिहान ८ बजेसम्म नउठेपछि बुझ्न गएका आफन्तले राहुललाई ओछ्यानमा अचेत अवस्थामा फेला परेपछि उपचारको लागि निजगढ ८ कै सिद्धार्थ मेडिकलमा लगिएको र स्वास्थ्यकर्मी लिला लामाले उनको मृत्यु भइसकेको बताएपछि उनलाई पनि वीरगञ्ज लगिएको थियो । अस्पतालमा परीक्षण गर्दा राहुलको टाउकोमा सर्पले डसेको भेटिएको मामा अजय मलीले जानकारी दिनुभयो ।

Leave a Reply