पुष्पराज खतिवडा
मनहर्वा,बारा जिल्लाका विभिन्न स्थानमा गणेश चतुर्थी पूजा शुक्रबारबाट शुरु भएको छ । विषेश गरी तराई मधेशका हिन्दु धर्मावलम्बीहरुले गणेश चतुर्थीका दिनलाई विषेश पर्वका रुपमा मनाउने गरेका छन् ।
सो अवसरमा शुक्रवार बिहान बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर बजारमा भव्य शोभायात्रा निकालेर श्रीगणेश चतुर्थी पूजाको आरम्भ गरिएको छ । बिगत एक दशकदेखि जीतपुरमा गणेश चतुर्थी पर्वका दिन भव्य कार्यक्रम सहित शोभायात्रा हुँदै आएको स्थानीय पत्रकार श्याम गुप्ताले जानकारी दिनुभयो ।
अघिल्ला वर्षहरुमा झैं यसवर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुरको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित गौशालाको चौरमा ५ दिन सम्मका लागि गणेश भगवानको पूजा अर्चना सुरु गरिएको उहाँले बताउनुभयो ।
पूजाको पहिलो दिन शुक्रवार बिहान पूजा समितिका अध्यक्ष श्रीराम साह कानुको अगुवाइमा पूजा स्थलबाट निकालिएको शोभायात्रामा घोडायात्रासहित बाजागाजाकासाथ जीतपुर बजारको परिक्रमा गरिएको थियो । शोभायात्रामा बिभिन्न राजनीतिक पार्टीका कार्यकर्ता, स्थानीय समाजसेवी, विद्यालयका छात्र–छात्राहरु, बिभिन्न क्लबका पदाधिकारीसहित सयौं श्रद्धालु भक्तजनहरुको सहभागिता थियो ।
५ लाख रुपैंयाको अनुमानित लागतमा भइरहेको सो पूजामा आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्वारा मन्त्रको उच्चारण गर्दै पूजा गराइ श्री गणेश भगवानको प्रतिमूर्तिको स्थापना गरि पूजाको शुभारम्भ भएको हो ।
यस पटक गणेश चतुर्थका अवसरमा विश्व शान्तिको कामना गर्दै श्री गणेश भगवानलाई दुई सय ६५ किलोको लडडु चढाइको छ । पूजाका अवसरमा ५ दिनसम्म प्रत्येक दिन प्रवचन, भजनकृतनसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुले बताउनुभयो ।
गणेश चतुर्थीलाई भगवान गणेशको जन्मदिनका रुपमा लिने गरिएको छ । चतुर्थीका दिन गणेश भगवानको भव्य रुपमा पूजाआजा गरेर हरेक वर्ष धुमधामसँग मनाइने गरिएको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव शिवजी साहले बताउनुभयो । ‘व्यापारिक नगरीमा व्यवसायीहरुले कारोबारमा लाभ, सुख, शान्ति, अमनचयन र सबै प्राणी जगतको भलो होस् भन्ने कामनाका साथ चतुर्थी मनाउने गरेका छन ।’ उहाँले भन्नुभयो । पूजाकोलागि जिल्लाका अन्य सहर बजारमा पनि गणेश भगवानका ठुलाठुला मुर्ति बनाइएका छन ।