कलैया,नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिनमात्र बाँकी रहँदा पनि प्रदेश २ को बारा लगायत कुनै पनि जिल्लामा वडा अधिवेशन सुरु नै भएको छैन । प्रदेश २ अहिलेसम्म एउटामा पनि वडा अधिवेशन हुन नसकेपछि बाँकी थप निर्वाचनका सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश २ मा वडा अधिवेशन नै अनिश्चित बन्दा निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो ।

यसरी प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुंगिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।

प्रदेश २ मा बिहिबारसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन । केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका पार्टी उपसभापति विमलेन्द्र निधीको गृहजिल्ला धनुषामा पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन ।

क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्योलमा परेको कांग्रेस धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी योगेन्द्र पंजियारले बताउनुभयो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर तथा निर्वाचन क्षेत्र ४ का सभापतिसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘वडा अधिवेशन भदौ २६ र २७ गते हुने चर्चा चले पनि त्यो अब सम्भव छैन, अधिवेशनका लागि क्रियाशील सदस्यताको नै टुंगो लागिसकेको छैन ।’

धनुषा र बारामा क्रियाशील सदस्यमा जति विवाद छ, अन्य जिल्लामा त्यति धेरै देखिएको छैन ।

अधिवेशनले प्रदेश कांग्रेसमा ऊर्जाभन्दा पनि कलह बढाउने स्थिति देखिएको पुराना नेता बताउँछन् । प्रदेश २ सरकारमा सहभागी कांग्रेसका ३ मन्त्रीबीच पनि क्रियाशील सदस्यताको विवाद चुलिएको छ ।
प्रवक्ता शर्माव्दारा महामन्त्रीमा उठ्ने घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदो महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।

वीपी स्मृति दिवसको अवसरमा बिहीबार काठमाण्डौको सुन्दरीजल पुग्नुभएका शर्माले महामन्त्रीमा उम्मेदवारीको घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसक्नु भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि अहिले वडा अधिवेशन चलिरहेको छ । महाधिवेशन मङ्सिर ९ देखि १३ सम्म काठमाण्डौमा हुँदैछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here