नरेश गुप्त

बरियारपुर,अघिल्लो एघार महिनामा जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ति करणी मुद्दामा २९ जनालाई पक्राउ गरेको छ । सो अवधिमा जबरजस्ति करणीका ३६ मुद्दा भएकोमा २९ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी कार्यालयको ३ वर्षे तथ्याङ्कअनुसार पछिल्ला वर्षहरुमा बारामा जबरजस्ति करणीका घटना न्यूनीकरण भएको देखिएको छ । प्रहरीले दिएको तथ्याङ्गअनुसार आर्थिक वर्ष ०७६÷ ०७७ मा जबर्जस्ती करणी अभियोगमा ४४ वटा मुद्दा दर्ता भएको र ३६ जनालाई पक्राउ गरिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष ०७७,०७८ मा सोही अभियोगमा ४० मुद्दा दर्ता भएको र ३२ जना पक्राउ परेका थिए । चालू आर्थिक वर्षको अघिल्लो ११ महिनामा जम्मा ३६ मुद्दा मात्रै दर्ता भएको तथ्याङ्कले बितेको दुई आर्थिक वर्षको तुलनामा बारा जिल्लामा जबरजस्ति करणीका घटना घट्दै गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

जबरजस्ति करणी जघन्य प्रकृतिको अपराधिक घटना भएको र यो घटना प्राय नजिकका चिरपरिचित, आफन्त र साथीभाइबाट हुने गरेको तथ्यहरु फेला परेको प्रवक्ता थापाले सुनाउनुभयो ।

गत जेष्ठ महिनामा मात्र जबरजस्ति करणीका २ वटा मुद्दा दर्ता रहेकोमा एकजना पक्राउ परेको र अर्का एकजना अहिलेसम्म फरार रहेको प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी जबरजस्ति करणी प्रयास अभियोगमा प्रहरीले बारामा चालू आर्थिक वर्षको जेष्ठ मसान्तसम्म १४ वटा मुद्दा दर्ता गरि ९ जनामाथि अनुसन्धानअगाडि बढाइएको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

अपराध संहिंता ऐन २०७४ अनुसार जबरजस्ति करणी मुद्दामा पीडितको उमेर १८ वर्षमुनि भएमा १० वर्ष कैद सजाय र १४ वर्ष मुनिका पिडित नाबालिका भएको खण्डमा अभियुक्तलाई १६ वर्षसम्मको कैद हुने कानुनी व्यवस्था रहेको अधिवक्ता प्रेमलाल चौधरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here