वीरगन्ज,जिल्ला प्रशासन कार्यालय पर्साले स्मार्ट लकडाउनलाई अझै व्यवस्थित बनाउने निर्णय गरेको छ । सरकारले हालै जारी गरेको कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश २०७८ लाई प्रभावकारी कार्यान्वयन गर्ने सवालमा स्मार्ट लकडाउनलाई पर्सामा पनि प्रभावकारी रुपमा कार्यान्वयन गरिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।
विद्यालय संचालनको सवालमा सम्बन्धित स्थानीय तहले नै व्यवस्थापन गर्नुपर्ने र त्यसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको भने अनुगमन गरिने पनि जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार एक सूचना जारी गर्दै बताएको छ । पर्सामा हाल विद्यालयहरु संचालनमा रहेको तर स्वास्थ्यका मापदण्डहरु पालना कम भएको गुनासो बढेपछि प्रशासनले सूचना जारी गर्दै अनुगमन गरिने जनाएको हो ।
चाडपर्वहरुमा भीडभाड नगर्न र घरमा नै बसेर सकेसम्म्म पर्वहरु मनाउन पनि प्रशासनले सबैलाई आग्रह गरेको छ । पर्सामा अहिले सभा, सम्मोलन, कार्यक्रम लगायतका गतिविधिहरु संचालनका लागि रोक लगाइएको पनि प्रशासनले सूचनामार्फत सबैलाई जानकारी गराएको छ । पछिल्ला दिनमा बिभिन्न राजनीतिक दलहरुले कार्यक्रम गर्न थालेपछि प्रशासनले सचेत गराएको हो । हिन्दू महिलाहरुको पर्व तीज नजिकिदै गरेको सवालमा लक्षित गर्दै प्रशासने चाडवाडको नाउँमा भीडभाड नगर्न भनेको हो । यसैगरी जिल्ला प्रशासन कार्यालयले वीरगन्जस्थित इनर्वा नाका बाहेक अन्य नाकाबाट सीमा वारपार गर्नमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बिहीबार सार्वजनिक सूचनामार्फत यस्तो आदेश जारी गर्नु भएको हो ।
सूचनामा जिल्लाको वीरगन्ज (इनर्वा) सीमा नाकाबाट विदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पु¥याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम क्वारेन्टाइनमा अनिवार्य रुपले बस्नुपर्ने उल्लेख गरिएको छ । इनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा रोक लगाइएको समेत सूचना स्पष्ट उल्लेख छ ।