सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ।

सोमबार बसेको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता न्यायपालिकाको अटल आस्था र प्रतिबद्धता भएको स्पष्ट पारेको हो।

सर्वोच्च अदालतका प्रवक्ता डा। अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक रूपमा आएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने कानुनी छानबिन र अनुसन्धानमा आवश्यक जवाफदेहिता निर्वाह गर्न तथा सहयोग गर्न न्यायपालिका प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम वा नकारात्मक असर नपर्ने विषयमा ध्यान दिन बैठकले आग्रह गरेको छ।

छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने प्रकृतिका समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि पूर्ण बैठकले सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

त्यस्तै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायकर्मीलाई आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply