कलैया,बारा लगायतका मध्य तराईका जिल्लाहरुमा लगाएको धानबालीमा रोग र किराको प्रकोप बढेका कारण उत्पादन घट्ने चिन्ताले किसानहरुलाई सताएको छ ।
सोना मन्सुली, भदैया, सारो लगायतका प्रजातिका धानबाीलमा गवाँरो किरा र पात बेरुवा रोगको प्रकोप देखिएको किसानहरुले बताएका छन् । किरा र रोगको प्रकोप बढ्दै जाँदा धानको गुभो मर्ने र विस्तारै बोट नै मरेर जाने समस्या बढेको किसानहरूले बताएका छन् । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँँ भएको कुल ३५ हजार हेक्टर मध्ये १० प्रतिशत धानबालीमा गवारो किराले क्षति गरेको छ ।
रोगको प्रकोप दिनदिनै बढ्दै गए पनि त्यसको उचित व्यवस्थापन र नियन्त्रणका लागि भने सरोकारवाला निकायबाट कुनै पनि पहल हुन नसकेको किसानहरुको गुनासो छ । पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ का किसान गजेन्द्र चौधरीले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको धानबालीमा गवारो र पातबेरुवा रोगको प्रकोपले किसानलाई दुःख दिएको जानकारी दिनुभयो ।
रोग बढ्दै गए पनि किसानले आवश्यक औषधि पाउन नसकेको गुनासो उहाँले बताउनुभयो । किसानहरूले कृषि ज्ञान केन्द्रमा आफनो समस्या लिएर गएपछि त्यहाका प्राविधिकहरुले आफुहरुले प्राविधिक सल्लाहमा मात्रै दिन सक्ने तर बजेट नभएकाले विषाधि दिन नसक्ने भन्दै फर्काइ दिने गरेका छन् ।
यसवर्ष अत्याधिक वर्षा भएका कारण धानबालीमा रोग र किराको प्रकोप बढि देखिएको पर्साको जीराभवानी गाँउपालिकाका कृषि प्राविधिक बृजेश साहले बताउनुभयो । पटक पटक वर्षा भएको तथा चर्को घामका कारण किसानले राम्रोसंग खेत जोताइ नगरेका कारण जमिन भित्रका कीरा नष्ट हुन नसक्दा किराको प्रकोप बढेको साहले बताउनुभयो । अहिले धानबालीमा देखिएको रोग र किराको प्रकोप नियन्त्रणका लागि किसानले कृषि प्राविधिकसंग सल्लाह लिएर विषाधि छर्कनु पर्ने सुझाव उहाँले दिनुभयो ।