वीरगन्ज,पर्सा जिल्लामा कोरोना संक्रमणको तेश्रो लहर भित्रिने संभावना देखिएकाले त्यसबाट जोगिन स्थानीय प्रशासनले पूर्वतयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले कोरोना संक्रमणको तेश्रो लहर भित्रिने संभावना देखिएकाले त्यसलाई रोक्नका लागि विभिन्न तयारी थाल्ने निर्णय गरेको हो । बैठकले जिल्लाभर कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
कोरोना परीक्षणको दायरा र कन्ट्याक्ट ट्रेसीङ बढाउन स्वास्थ्य कार्यालय र पालिकाहरुलाई निर्देशन दिइएको बैठकमा सहभागी सहायक प्रमुख जिल्ल अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो । यस्तै बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालानालाइ प्रभावकारी बनाउन अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी सरकारले गत शुक्रबारदेखि देशभर शुरु गरेको मास्क अभियानलाई पर्सा जिल्लमा पनि प्रभावकारी रुपमा सन्चालन गर्न निर्णय गर्दै बैठकले उक्त अभियान अन्तर्गत प्रहरीले जिल्ल्लाभर चोक र चौताराहरुमा सर्वसाधरणलाई मास्क लगाउन उत्प्रेरित गर्ने, मास्क लगाउने तरीका सिकाउने र पटक पटक आग्रह गर्दा पनि मास्क लगाउन अटेर गर्नेलाई नियन्त्रणमा लिएर १ सय रुपैया जरीवाना तिराउने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, वीरगन्ज महानगरपालिकाका, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, वीरगन्ज उद्योग वाणिज्य संघ, नारायणी अस्पताल, स्वास्थ्य कार्यालय पर्सा, नेपाल पत्रकार महासंघ पर्साका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।